arrow

एन्फा चुनाव रोक्न प्रयास जारी

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
anfa-logo.jpg.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन बैशाख २२ गते नै हुने लगभग पक्का भएको छ । तर निर्वाचन रोक्ने प्रयास अझै जारी रहेको बताइन्छ । 

निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा समूह नै बनाएर मैदानमा रहेका छन् । 

मणि कुँवर पक्षले चुनाव हार्ने लगभग निश्चित भएपछि विधान सम्मत समय भएन भन्दै निर्वाचन रोक्नका लागि उच्च अदालत पाटनमा उजुरी गरेको बताइएको छ । 

आइतबार उजुरी दिन गएका एन्फाकै पदाधिकारीहरुसमेतको उक्त उजुरी भने उच्च अदालत पाटनले दर्ता नगरेको स्रोतले बताएको छ । 

चुनावका लागि विधान अनुसार कम्तीमा ६० दिने म्यान दिनुपर्ने भन्दै उनीहरु उच्च अदालत पुगेका थिए । 

एन्फाको संस्थापन पक्षकै सहमति र उसैले खडा गरेको निर्वाचन समितिले बैशाख २२ गतेलाई निर्वाचनको मिति तोकेको थियो । 

यसअघि नै ६० दिने समय गुज्रिएको थियो । चैत १४ गते निर्वाचन गर्ने मिति तय भएका अवस्थामा अदालतमा मुद्दा परेपछि निर्वाचन स्थगित भएको थियो । 

उपाध्यक्षका उम्मेदवार पंकज नेम्वाङ भने मणि कुँवर पक्षले समयको बारेमा बखेडा झिकेर निर्वाचन लम्ब्याउन खोजेको आरोप लगाए । 

यसअघि नै समय गुज्रिसकेको अवस्थामा विशेष कारण देखाएर निर्वाचन तत्काल गर्नका लागि निर्वाचन समितिले मिति तोकिसकेका अवस्थामा निर्वाचन तयारीमा लाग्नुको सट्टा भाँड्न खोज्नु केवल एन्फालाई अस्थिरतातिर धकेल्न खोज्नु भएको उनको भनाई छ । 


सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा छ । शनिबार निर्वाचन हुँदैछ । यदि बुधबार, बिहिबार र शुक्रबारसम्म कुनै अप्रिय घटना भएन भने निर्वाचन निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ