काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटको क्वार्टर फाइनलमा नेपाल पराजित भएको छ । १५ वर्षपछी क्वार्टरफाइनलमा पुगेको नेपाल टेष्ट मान्यता प्राप्त बंगलादेशलाई अन्तिम सम्म दबाबमा राख्दै ६ विकेटले पराजित भएको हो ।
२ सय १२ रनको मध्यम चुनौती पछ्याएको बंगलादेशले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो । जितसंगै आयोजक बंगलादेश अपराजित रहँदै सेमिफाइनल पुगेको छ ।
बंगलादेशका लागि कप्तान मेहेदी हसन मिराज र विकेट किपर जाकिर हसनले उत्कृष्ठ पारी खेले । जाकिरले अविजित ७५ रन बनाए भने मेहेदीले ५५ रनको योगदान गरे । कप्तान मेहेदी म्यान अफ द म्याच भए । जोयज शैखले ३८, पिनाक घोसले ३२ रनको योगदान दिए । बलिङ तर्फ नेपालका सु्नील धमलाले २, सन्दिप लामिछानेले १ विकेट लिए ।
शेर बंगला नेशनल स्टेडियम मिरपुरमा भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनाएको थियो । टस जितेर पहिले व्याटिङ राजेको नेपालका लागि कप्तान राजु रिजालले ७२ रन बनाए । सुनिल धमलाले २५, दिपेन्द्र ऐरी र प्रेम तामाङले समान २२, आरिफ शेखले २१, कुशाल भूर्तेलले १४ रन बनाए । बलिङतर्फ बंगलादेशका मोहमद शेफुद्दिनले २, हसन राना, हसन मिराज र अहम्मदशौनले समान १–१ विकेट लिए ।
डर सान्टोको थियो, हसन जोडी चम्कियो
यू–१९ विश्वकपमा खतरनाक रुपमा निस्केका नजमुल हसन सान्टोलाई नेपाली बलर सन्दिप लामिछानेले सजिलै पन्छाए । सन्दिपले कट एण्ड क्याच गरे । यद्यपि, हसन जोडी चम्किने र हार हात पर्ने भेउ नेपाली बलरले पाउन सकेनन् । बंगलादेशका कप्तान मेहेदी सहसन मिराज र विकेट किपर जाकिर हसनले उत्कृष्ठ पारी खेले । जाकिरले १ छक्का र ५ चौकाको मद्दतले अविजित ७५ रन बनाए । उनले मात्र ७७ बलमा उच्च स्कोर गरे । ६५ बलको सामना गरेका मिराजले ३ चौकाको मद्दतले अर्ध शतक पार गरे । बंगलादेशको सिनियर टोलीका मूख्य प्रशिक्षक उपस्थित खेलमा अनपेक्षित हसन जोडी चम्कियो । यसअघिका, खेलमा यी दुई खेलाडीले खासै अंक स्कोर गर्न सकेका थिएनन् ।
यो इतिहास सम्झाउन चुक्यो नेपाल
न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो ।
नेपालका लागि विभत्सु थापाले अविजित ४१ रन बनाएका थिए ।अलराण्ड प्रदर्शन गर्ने क्रममा बरदान चालिसेले नेपालका लागि २७ रन बनाए । म्यान अफ द म्याच भएका उनले बंगलादेशको व्याटिङ ध्वस्त पार्न ४ विकेट चट्काए । टोलीको जितका लागि १७ रनको योगदान गरेका कप्तान विनोद दासले २ विकेट लिए । रोचक त के भने, दासले शून्यमा आउट गरेका बंगलादेशी ब्याट्सम्यान मोहम्मद अस्रफुल अहिले बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दछन् । दासको बलिङमा अस्रफुल आउट भए, भने अस्रफुलकै बलिङमा दास अली अर्मानबाट क्याच आउट भए ।
नाफिज इक्वाल बंगलादेशको कप्तान थिए । उक्त खेलको अर्को रोचक संयोग दुबै खेलका कप्तानले समान १७–१७ रन बनाए । नेपालका लागि तत्कालिन ओपनर थिए कनिस्क चौगाई । चौगाईले उक्त प्रदर्शनमा १४ रन मात्रै बनाए पनि यू–१९ विश्वकपमा नेपालका लागि सर्वा्धिक रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए । उनले ५ सय रन पार गरेका थिए । उनी हाल नेपाली टोलीमा छैनन् । नेपाली खेल कौशललाई देश बाहिर बसेर हेरिरहेका छन् ।
विडम्पना नेपाल सोही प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बावेसंग एक सय ३७ रनले पराजित हुँदै प्लेट च्याम्पियन हुन सकेन । त्यसअघि नेपाल सन् २००० मा न्यूजिल्याण्डलाई हराएर पहिलो पटक प्लेट च्याम्पियन बनेको थियो । यसपटक, नेपाल अघिल्लो चरण प्रवेश गर्ने थुप्रै सम्भावना हुँदा हुँदै सेमिफाइनल यात्रा तय गर्न सकेन ।
यो अवसर पनि गुम्ने खतरा
सेमिफाइन यात्रा तय गरेका खण्डमा नेपालको आगामी विश्वकप सहभागिता सहज हुने पक्का थियो । बंगलादेशसंगको हारले यो अवसर समेत संकटमा परेको छ । एशोसिएट राष्ट्रबाट क्वार्टरफाइनलमा पुगेका दुई टोली नेपाल र नामिविया मध्ये शीर्ष स्थानमा रहने टोली अर्को पटकको विश्वकपमा सोझै छनोट हुनेछ । नेपालले अब यो अवसर सदुपयोग गर्न नामिवियालाई पछार्न सक्नु पर्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको बोर्ड बैठकले दुई टोलीमध्ये शीर्ष स्थानमा रहनेलाई अर्को पटकको विश्वकपमा सोझै छनोट गर्ने निर्णय गरेको छ । बैठकले एशोसिएट राष्ट्रको पक्षमा निर्णय गर्दै यो विश्वकपको शीर्ष स्थानमा रहने एशोसिएट सदस्य राष्ट्र सन् २०१८ को जनवरी १२ देखि फेबु्रअरी ४ सम्म न्यूजिल्यान्डमा हुने यू–१९ विश्वकप क्रिकेटका लागि सोझै छनोट व्यवस्था गरेको हो ।