arrow

भारतबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै, व्यवसायी चिन्तित

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
egg.jpeg

चितवन । भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ ।

यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो अण्डा अवैधरुपमा भित्र्याउन सहज हुँदै आएको छ । नेपाल अण्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अण्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अण्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।

नेपालमा अण्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रंगको अण्डा पार्ने गर्छन् । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईका अनुसार भारतमा सेतो अण्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अण्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।

भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अण्डा उत्पादन हुने उनले बताए  । भारतमा ठूला फार्म छन् । एउटै फार्ममा ८-१० लाखको संख्यामा कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैंक ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको बताइन्छ । पोल्टी व्यावसायी भट्टराईले भारतीय अण्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती भएको बताए । सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने उनले बताए ।

भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अण्डा भित्रिने संघका अध्यक्ष कँडेलले जानकारी दिए । भारतमा उत्पादन हुने रातो अण्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अण्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको उनले बताए ।

नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब हाराहारी लगानी भएको छ । उनका अनुसार आधा लगानी अण्डा उत्पादनका लागि भएकाले समयमा नै अवैध रुपले भित्रिएका अण्डा रोक्न नसके यहाँका व्यवसायी धरासायी हुने बताए । नेपालमा अण्डा उत्पादन गर्ने व्यवसायी दुई हजार हाराहारीमा छन् भने एक लाख ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ