arrow

पाल्पामा असिना पानीबाट करोडौंको तरकारीवाली नष्ट, ८० प्रतिशत खेतीमा क्षती

logo
रामचन्द्र रायमाझी।
प्रकाशित २०७५ वैशाख १७ सोमबार
asina-pani-tarkari-bali_nasta.jpg

पाल्पा। वैशाख १६ र १७ गते आएको असिना पानीले जिल्लामा करोडौ रुपैयाको तरकारी तथा अन्नवालीमा नोक्सानी भएको छ। असिना पानीले किसानहरुले लगाएको मकैवाली, तरकारी, सुन्तला, काफल, लिचि नष्ट गरेको छ । 

तानसेन नगरपालिका भित्र मात्र ५ करोड रुपैँया तरकारी खेती नष्ट भएको छ । असिनापानीले आफ्नो २० रोपनी क्षेत्रफलमा लगाएको क्राक्रा, सिमी, करेला पूर्णरुपमा नष्ट भएको तानसेन नगरपालिका वडा नंं १४ का निर्मल रानाले बताए । असिनाले थिचेर बारीमा लगाएको तरकारी पूर्ण रुपमा नष्ट हुँदा करीव ६ लाख रुपैया नोक्सानी भएको रानाले बताए ।

तानसेन नगरपालिका वडा नंं ९ का धुव्रराज भण्डारीको २३ रोपनी क्षेत्रफलमा लगाएको तरकारी बाली पनि असिनाले नष्ट गरेको छ । असिनाको कारण १० लाख बराबरको तरकारी नष्ट भएको कृषक भण्डारीले बताए ।

तानसेन नगरपालिका वडा नंं ७ कुन्सरेका अनिल थापाको २० रोपनीमा लगाएको खुर्सानी, टमाटर, काक्रा नष्ट भएको छ । असिनाले ८ लाख बराबरको क्षति भएको थापाले बताए । १५ बर्षयता यति ठुलोमात्र असिना परेको किसान थापाले बताए ।

तानसेन नगरपालिमा भित्र मात्र असिना पानीको कारण किसानहरुको  ४ करोड ८० लाख रुपैयाको तरकारी क्षती भएको छ । २ सय हेक्टर क्षेत्रफलमा १ हजार ६ सय मेट्रिक टन तरकारी असिनाले नष्ट गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन ईकाई पाल्पाका बरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए । किसानहरुले लगाएको ८० प्रतिशत तरकारी असिनाको कारण क्षति भएको प्रारम्भिक  विवरण आएको तथा क्षति अझ बढ्ने बरिष्ठ कृषि विकास अधिकृत पाण्डेले बताए ।

हालसम्म कार्यालयमा किसानहरुले दिएको जानकारी अनुसार तानसेन नगरपालिका वडा नंं ९ दमकडामा ७० हेक्टरमा लगाएको तरकारी बाली नष्ट भएको छ भने वडा नंं ७ सुन्दरगाउँमा ५० हेक्टर, वडा नंं ८ मदनपोखरामा २५ हेक्टर, वडा नंं ६ बरतुङ्गमा २० हेक्टर, वडा नंं १४ अर्गलीमा १४ हेक्टर जमिनमा र अन्य वडामा गरी २ सय हेक्टर जमिनको तरकारी खेती नष्ट हुँदा किसानहरु लाई ४ करोड ८० लाख रुपैया क्षतिको विवरण आएको बरिष्ठ कृषि विकास अधिकृत पाण्डेले बताए ।

किसानहरुले  बेमौसमी काक्रा, करेला, सिमी, लौका, भान्टा, टमाटर, खुर्सानी, बोडी, बन्दा काउली, प्याज र लसुनको व्यवसायिक खेती गर्दै आएका थिए ।  भर्खरै फल लागेको सुन्तला, आँप, काफल असिना पूर्ण रुपमा नष्ट गरेको छ ।

व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका किसानहरुको तरकारी असिनाको कारण पूर्ण रुपमा नष्ट भएको छ । अत्याधिक असिनाको कारण व्यवसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका छहरा अमलावास, भुवनपोखरी, मुझुङ, पालुङ्गमैनादी, बतासे , जल्पा लगायतका  किसानहरुको करोडौं नोक्सान हुँदा कृषकहरु चिन्तित भएका छन् । १५ दिन अघिमात्र किसानहरुले खेतवारीमा छरेको मकै असिनाको कारण पूर्णरुपमा नष्ट भएको हो ।

यो बर्ष देशका विभिन्न भागमा पटकपटक गरि परेको असिनापानीले किसानहरुको तरकारी, फलफूल तथा अन्नवालीमा व्यापक क्षती पुर्‍याएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ