arrow

जब दिल्ली खेल्छ तब आशा लाग्छ, खोइ सन्दीप कहिले आउँछ ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
sandeep-delhi.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट नहेर्ने क्रिकेटप्रेमी सायदै कम होलान् । यसको एउटै कारण हो विश्वका उत्कृष्ट खेलाडीहरु आइपीएलमा सहभागी छन् । 

नेपालीले यसअघि पनि आइपीएल हेर्ने गर्दथे । तर यसपाली भने सन्दीप लामिछानेले नेपालबाटै पहिलो पटक प्रतिनिधित्व गरेकाले चासो झनै बढेको छ । 

तर दिल्ली डेयर डेभिल्समा सहभागी सन्दीपले खेल्ने सम्भावना अझै देखिएको छैन । एक वरिष्ठ पत्रकारले गुनासो पोख्दै भने, ‘जब दिल्ली खेल्छ तब आशा लाग्छ, खोइ सन्दीप कहिले आउँछ मैदानमा ?’

उनको त्यो भन्दा ठूलो गुनासो उनका छोराको जवाफ दिनका लागि रहेको छ । उनलाई उनका ५ कक्षामा पढ्ने छोरा बाबुलाई सोध्ने गर्छन्, ‘बाबा तपाईँ त पत्रकार सबै थाहा पाउनु हुन्छ भन्नुस् न सन्दीप दादा कहिले खेल्छ ?’ 

हो, सन्दीपले पहिलो पटक नेपालको प्रतिनिधित्व गरे । तर उनको मैदानमा गएर खेलेको हेर्ने आशा कतै निराशामा परिणत हुने हो कि भन्ने चिन्तामा नेपाली छन् । 

दिल्लीले राम्रो खेलेको पनि छैन । दिल्ली पुछारमा छ । सोमबार रातिको खेलमा पनि दिल्ली चेन्नई सुपर किङ्ससंग १३ रनले पराजित भयो । 

पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको नोक्सानीमा २११ रन बनायो । जवाफमा दिल्लीले ५ विकेटको नोक्सानीमा १९८ रन बनाउन सक्यो । 

लिगमा ८ खेलबाट १२ अंकसहित चेन्नई शिर्ष स्थानमा पुगेको छ भने समान अंकबाटै सनराइजर्स हैदराबाद दोस्रो स्थानमा छ । 

आठ खेलबाट ४ अंक मात्र जोडेको दिल्ली पुछारमा छ । दिल्लीले अब केही खेल हार्नासाथ प्लेअफमा पुग्ने सम्भावना पनि गुमाउने छ । 

अब दिल्लीले ६ खेल खेल्न बाँकी छ । प्लेअफ पुग्ने सम्भावना जिवित राख्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । 

यस्तोमा प्रश्न फेरि तेर्सिन्छ के सन्दीपले खेल्न पाउलान् ? बाँकी हरेक खेलमा त्यही एउटा मात्र नेपालीको आशा हुनेछ कि आज त सन्दीपले खेल्छन् । तर सन्दीप मैदानमा कहिले आउँछन् ? 

सन्दीप मोह र राजनीति 
सम्भवतः अहिलेसम्म कुनै पनि विदेशी खेलाडीले आइपीएलमा खेल्न पाउँदा टिमले त्यो खेलाडीकै राष्ट्रमा पुगेर भेष्ट वा खेलाडीको नम्बर बाँडेको रेकर्ड छैन । 

दिल्लीका सीइओ नेपाल आएरै सन्दीपलाई सन्दीपको भेष्ट बाँडे । यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता नभएको भए ओलीको हातबाटै भेष्ट उपलब्ध गराउने योजना दिल्लीको थियो । 

यति ठूलो कार्यक्रम गरेर सन्दीपलाई लिए पनि अवसर नदिनु भनेको केवल भारतीय राजनीति भएको विष्लेषण समेत गर्न थालिएको छ । 

के सन्दीप राजनीतिक एक पात्र मात्रै हुन् त ? अवश्य हैनन् । उनको खेल क्षमता अद्भुत छ । उनले अवसर पाए त्यो चुनौतीको सामना गर्न सक्छन् ।

उनी विश्वकप छनोटमा ह्याट्रिक गर्ने खेलाडी हुन् । उनको बलिङ जादुले नै उनलाई अष्ट्रेलियन राष्ट्रिय टिमका पुर्व कप्तान माइकल क्लार्कले अभ्यास गराएका थिए । 

यति हो कि सन्दीपले खेल्न पाउन् । कुनै पनि राजनीतिका पात्र नबनुन् । हुनत यो पनि बिर्सन हुन्न कि सन्दीपसंगै अनुभवी खेलाडीहरुसमेत बेञ्चमा छन् । तर नेपाली हुनुको नाताले आशा त्यही हुन्छ कि सन्दीपले पनि खेलुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ