arrow

एन्फा पदाधिकारीलाई नेताहरु भेट्ने लर्को, कोसंग कतिबेला ? कार्यसमिति बैठक पनि बस्दै 

यसो भन्छन् अध्यक्ष शेर्पा

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
anfa-karma-team.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीलाई नेताहरु भेट्ने लर्को चलेको छ । शनिबार भएको चुनावले नयाँ कार्यसमिति आएसंगै नेपाली फुटबल जोगाउन सबै नेताहरु भेट्ने क्रम चलेको हो । 

उपाध्यक्ष पंकज नेम्वाङका अनुसार सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न टोली खुमलटार गएको छ । 

त्यसैगरी प्रधामन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेको समय दिएका छन् । 

कार्यसमिति बैठक बस्दै 
सोमबारै नवनिर्वाचित टिमको पहिलो कार्यसमिति बैठक बस्नेछ । बैठकको समय भने तय भइसकेको छैन । दिउँसोसम्म समय मिलाएर बैठक बस्ने निर्वाचित एक सदस्यले बताए । 

एन्फा स्रोतका अनुसार नेताहरुबीचको छलफलको समय मिलाएर कार्यसमिति बैठक बस्ने सहमति भएको छ । 

कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षसंगै महासचिवसमेत तोक्ने बुझिएको छ । तत्कालका लागि बैठकले कुनै विशेष निर्णयसमेत गर्न सक्ने सम्भावना रहेको स्रोत बताउँछ । 

स्रोतका अनुसार लिग संचालनको मिति तय हुनेछ । 
 

के भन्छन् शेर्पा ? 
हाम्राकुरासंगको छोटो कुराकानीमा एन्फाका नवविर्चाचित अध्यक्ष कर्माछिरिङ अबको योजनाबारे यसो भन्छन्–

तत्कालका कार्यक्रम के छन् ? 
–तुरुन्तै लिग संचालन गर्ने हो । विधान संशोधन, नियमावली, ग्रासरुट प्रोग्राम तय हुन्छ ।

पारदर्शीताको प्रश्न पहिलेदेखिकै एन्फाको रोग हो, अब के होला ? 
पारदर्शीता नियमावली कार्यविधि निर्देशिका बनाउँछौं । हिजोको जस्तो मौखिक आदेशका भरमा फुटबल चल्दैन । त्यसो भएपछि पारदर्शी देखिइहाल्छ । विकेन्द्रीकरण हुन्छ । विकेन्द्रीकरण पनि पारदर्शीताको नमूना हो । 

संघीयता संरचना र विस्तार कत्तिको होला ? 
अहिले हामीले जिल्लाको सदस्य संख्या बढाउने भन्दा पनि संघीयताको संरचनामा ढाल्नुछ । त्यसपछि आफसेआफ जिल्लाहरु बढ्न सक्छन् । फिफा र एएफसीसंगको सल्लाहपछि यो काम गर्छौं । 

निर्वाचनमा पराजित भएको पक्षको अवरोध होला कि ? 
अवरोध हुने छैन भन्ने विश्वास छ । काम गर्नुपर्छ । काम गर्नेलाई सबैको समर्थन हुन्छ । फुटबल विकासका लागि धेरै जनाको आवश्यकता पर्छ । पराजित भएका साथीहरुमा पनि अनुभव छ । उहाँहरुलाई पनि समेटेर फुटबल विकासका लागि सहयात्रा गर्दै अगाडि बढ्ने हो । उहाँहरुले पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । हामी सबै फुटबलकै लागि लडेका हौं । चुनाव भइसकेपछि अब यो मान्छे र त्यो मान्छे भन्ने हुँदैन । सबै फुटबलका मान्छे हौं । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ