पाल्पाका सरकारी कार्यालयबाटै विद्युतीय भुक्तानी सेवा शूरु
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख २४ सोमबार
500
Shares
पाल्पा । सरकारले चालु आर्थिक वर्ष भित्रै सबै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरे संगै पाल्पा जिल्लामा पनि यो सेवा लागु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले विद्युतीय भुक्तानी सेवा शूरु गरेको हो । कार्यालयले हाम्रो पुस्तक पसललाई पहिलो विद्युतीय भुक्तानी सेवा दिएको हो ।
कार्यालयले हाम्रो पुस्तक पसललाई तिनुपर्ने १३ हजार ३ सय ८६ रुपैया विद्युतीय भुक्तानी मार्फत सेवा दिएको हो । विद्युतीय भुक्तानी सेवामा केन्द्रिय सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित पाटी फर्म तथा संघ संस्थाको बैंक खातामा सिधैं राखिदिने प्रमुख कोष नियन्त्रक बासुदेव शर्माले बताए ।
पाल्पाका संघीय कार्यालय अन्तरर्गत पाटी, फर्म संघ संस्थालाई भुक्तानी हुने रकम चेक मार्फत नभई विद्युतीय भुक्तानी सेवा मार्फत सिधै बैंक खातामा जम्मा हुने प्रमुख कोष नियन्त्रक शर्माले बताए । हालसम्म सरकारी कार्यालयले पाटी, फर्म संघ संस्थालाई टिएसए (एकल खाता कोष प्रणाली मार्फत) एसी पे चेक मार्फत भुक्तानी गर्दै आएका थिए । संघीय कार्यालयले पाटी, फर्म संघ संस्थालाई दिने भुक्तानी आदेशको अनलाईन तथा लिखित डकुमेन्ट कोलेनिका कार्यालयमा पेश गर्नुपर्ने, सोही आधारमा कार्यालयले लिखित डकुमेन्ट र अनलाईन डकुमेण्ट प्रमाणित गरेपछि मात्र कार्यालयले सम्बन्धित पक्षको रकम सोझै बैकंमा जम्मा गरिदिने छ ।
विद्युतीय सेवा भुक्तानीको लागि फर्मको नाम, बैंक खाता र स्थायी लेखा नम्बर अनिवार्य हुनुपर्ने प्रमुख कोष नियन्त्रक शर्माले बताए । यो सेवा भुक्तानीको लागि नेपाल क्लियरीङ हाउस लिमिटेड सञ्चालनमा ल्याएको इन्टर, बैक पेमेन्ट सिष्टमको सदस्य भएको बैक तथा वित्तीय संस्थामा बैक खाता हुनुपर्ने छ । आगामी आर्थिक वर्ष २०७५ श्रावण १ गतेदेखि संघीय कार्यालयमा अनिवार्य रुपमा विद्युतीय सेवा भुक्तानी लागु हुने कोलेनिको कार्यालयले जनाएको छ । यो सेवा लागु भएपछि पाटी, फर्म संघ संस्था चेक लिएर बैक धाउनु पर्ने बाध्यता हटेको छ जसको कारण सेवाग्राहीका लागि समय बचत हुनेछ ।