arrow

पूँजी बजार प्रदर्शनी वैशाख २६ र २७ गते भृकुटीमण्डपमा

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
securities-board-nepal.JPG

काठमाडौं। शेयर बजारको अवस्था, लगानीको प्रकृति तथा धितोपत्र बजारमा विकास भएका प्रविधिका बारेमा आवश्यक जानकारी दिइने उद्देश्यले ‘पूँजी बजार प्रदर्शनी’हुने भएको छ। धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको आयोजनामा यही वैशाख २६ र २७ गते भृकुटीमण्डपमा हुने सो प्रदर्शनीमा नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर र क्रेडिट रेटिङ कम्पनीका १७० वटा कक्ष रहने जनाएको छ।

बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीमा शेयरमा लगानी गर्न चाहनेले अत्यावश्यक जानकारी लिन सक्नेछन्, बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने। प्रदर्शनीमा धितोपत्रसम्बन्धी अध्ययन सामग्री निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ। शेयर बजारमा सबैलाई सहभागी गराउने उद्देश्यले २०७३ माघदेखि शुरु गरिएको आश्वा प्रणालीमा हालसम्म दुई हजार ५०० बैंक तथा वित्तीय संस्था सहभागी भइसकेको बोर्डले जनाएको छ।

यस्तै गत फागुन ११ देखि केन्द्रिकृत आश्वा प्रणालीसमेत लागू गरिएको छ। बोर्डले धितोपत्रको निष्काशनदेखि कारोबारसम्मको समयावधि ५० दिनमा सिमित गरिएको जनाएको छ। पूँजी परिचालनका लागि प्राथमिक शेयर निष्काशनमा सहभागी हुने आवेदकलाई न्यूनतम १० कित्ता शेयर दिनैपर्ने व्यवस्था लागू गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

वित्तीय अवस्था सन्तोषजनक नभएका जलविद्युत् कम्पनीको साधारण शेयर निष्काशनमा कडाइ गरिएकोसमेत बोर्डले जनाएको छ। यसैगरी शेयर दलाललाई विद्युतीयमाध्यमबाटै शेयर खरिद बिक्रीको व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइएको अध्यक्ष कार्कीले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ