arrow

एपिएफलाई महिला भलिबलको उपाधि

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार

काठमाडौँ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्‍यो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले एक लाख हात पार्‍यो ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । न्यू डायमन्डलै रु ५० हजार हात पार्‍यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि एपिएफ क्लबकी सरस्वती चौधरी हात पारिन् । उनले ३० हजार बराबरको सुलक्स सेन्टरले प्रायोजन टि–सर्ट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार पुरस्कार पाइन् ।

शेरबहादुर खड्का स्मृति स्पेसल अवार्डबाट एपिएफकी रेश्मा भण्डारी सम्मानित भइन् । उनले पनि सुलक्स सेन्टरले प्रायोजन गरेको टि–सर्ट, घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार प्राप्त गरिन् ।

उत्कृष्ट स्पाइकरको उपाधि न्यू डायमण्डकी प्रतिभा मालीले जितिन् भने डिफेन्समा न्यू डायमण्डकी सलिन श्रेष्ठले हात पारिन् । उत्कृष्ट ब्लकरमा नेपाल पुलिसकी मनिषा चौधरी चुनिइन् ।

उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन् भने उत्कृष्ट सर्भर एपिएफकी उषा विष्ट भईन् । उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ तथा उत्कृष्ट प्रशिक्षक एपिएफ क्लबका ज्ञानेन्द्र विष्ट घोषित भए । विधागत विजेताले जनही  पाँच हजार प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार वितरण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ