काठमाडौं । कोपा डे फ्रान्स फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ । तेस्रो श्रेणीको क्लब लेस हर्बियर्सलाई मंगलबार राति भएको खेलमा २–० ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । जिओभानी लोसेल्सो र एडिसन काभानीले पीएसजीलाई १–१ गोल दिलाए ।
घाइते भएका कारण ब्राजिलियन खेलाडी नेइमारले यो खेल पनि खेलेनन् तर टिमले जित्यो । उनले खेल भने हेरेका थिए । चोटका कारण उनी फेबु्रअरीदेखि मैदानमा छिरेका छैनन् ।
यससँगै पीएसजीले एकै सिजन ३ घरेलु उपाधि जितेर उपाधिमाथि ह्याट्रिक पुरा गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वान र फ्रेन्च लिग कप जितिसकेको छ।
पीएसजीको यो १२औँ कोपा डे फ्रान्सको उपाधि हो । लगातार चौथो कोपा डे फ्रान्स जितेको पीएसजीको यो ४२ औं अपराजित यात्रा समेत भएको छ । सन् २०१४ को जनवरी यता पीएसजी हारेको छैन ।