arrow

हावाहुरीले चितवनको कृषि क्षेत्रमा ४२ करोडको क्षति भएको प्रारम्भिक खाका 

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
Chitwan_District-2017.png

रत्ननगर । चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । 

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए ।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो । 

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको जानकारी दिए । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ । 

उनले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका बताए । अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् । 

उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् । बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शत्प्रतिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थलगत अनुगमन गरिरहेको पन्तले बताए । पन्तले आफ्नो सात बिघामा ५० प्रतिशत र अर्को १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिए ।

स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गरे । २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ