म्यान्चेस्टर सिटीको सय, लिभरपुल चौथो, चेल्सीका दिन गए, अरु के भए ?
प्रकाशित २०७५ वैशाख ३० आइतबार
313
Shares
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको यो सिजनमा च्याम्पियन बनेको म्यान्चेस्टर सिटीले नयाँ कीर्तिमान बनाएको छ । त्यो हो ३८ खेलमा १०० अंक । यो कीर्तिमान तोड्न इंगलिस फुटबलमा असम्भव प्राय नै छ ।
सिजनको अन्तिम खेलमा साउथ ह्याम्पटनमाथि १–० को जितसहित सिटीले १०० अंक बनाएको हो ।
इन्जुरी समयमा गाब्रिअल जिससले गरेको गोलले नै सिटीले जित पाउँदा अंक पनि तेहोरो पुग्यो ।
यता, ब्राइटनलाई ४–० ले हराउँदै लिभरपुल चौथो भयो भने डिफेन्डिङ च्याम्पियन चेल्सी न्यूकासलसंग ३–० ले हार्दा च्याम्पियन्स लिग खेल्न पनि नपाउने भयो ।
अर्थात् चेल्सी पाँचौं स्थानमा रहेर लिग सकाउन वाध्य भयो । ८१ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो भयो । अन्तिम खेलमा युनाइटेडले वाटफोर्डलाई १–० ले हरायो ।
टोटनह्यामले लेस्टर सिटीलाई ५–४ ले हराउँदै ७७ अंकसहित तेस्रो भयो । चेल्सी, आर्सनल र बर्नले भने युरोपा लिग खेल्न वाध्य भएका छन् ।