arrow

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित : अर्थमन्त्री डा खतिवडा

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
yubraj_khatiwada.jpg

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताए। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट गरे।

उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा सहयोगी बन्न सत्तापक्ष र प्रतिपक्षका सांसदलाई आग्रह गरे।

उनले विधिअनुसार बजेट र कार्यक्रममा सांसद र सम्बद्ध सबैको सहभागिता गराउन आफू तत्पर रहेको स्पष्ट गर्दै भने, “संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउनेमा म ढुक्क हुन आग्रह गर्छु, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रलाई संयोजन गरेर जाने सरकारको तयारी छ। हामी मुलुकमा लगानीका लागि उत्तम वातावरण सिर्जना गर्न सचेता छौँ।” सो विधेयकमाथि यही वैशाख २४ गतेदेखि छलफल चलेको थियो।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको निरन्तरताबारे सांसदले राखेको मागमा उहाँले जवाफ दिएनन्। सभामुख कृष्णबहादुर महराले छलफलमा प्रस्तुत सबै विषय समेटेर सरकारलाई प्रतिवेदन दिइने जानकारी बैठकलाई गराए। प्रतिनिधिसभाको अर्को बैठक जेठ २ गते बिहान ११ बजे बस्नेछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ