arrow

सुनसान बन्दै रामपुर तालपोखरा ,पानीको अभावमा डुंगा बन्द

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
rampur_tal_pokhraphoto.jpg

पाल्पा । पाल्पा रामपुरको तालपोखरामा पानी सुक्दै गएपछि अहिले डुंगा सञ्चालन बन्द गरिएको छ । पर्यप्त पानी नहुँदा डुंगा सञ्चालन बन्द गरिएको हो । डुंगा सञ्चालनकै कारण तालपोखरा क्षेत्रमा भरिभराउ हुने पर्यटक हिजोआज डुंगा सञ्चालन बन्द भएपछि यस क्षेत्र सुनसान बनेको छ ।

स्थानीय कुला, नहरबाट  पानी ल्याई डुंगा सञ्चालन गरिएको थियो । यहाँ पानीको मात्रा कम हुँदै गएपछि पर्यटकको चापलाई मध्यनजर गर्दै  विकल्पको रुपमा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालनमा ल्याइएको हो ।  विद्युत् आपूर्ति क्षमता कम भएका कारणले तालपोखरालाई आवश्यक पर्ने पानी लिफ्टिङ प्रणालीबाट ल्याउन समस्या परेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सुनिल देवकोटाले बताए ।  

लिफ्टिङबाट पानी सानो आयो, खडेरीका कारण स्थानीय कुला नहरमा पानी सुक्दै जाँदा आवश्यकताअनुसार पानी पुर्‍याउन गाह्रो भएको देवकोटाले बताए । “अहिले तालपोखरा वरपरको क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम भइरहेका छन्, नगरपालिकाले पनि बजेट उपलब्ध गराएको छ, अब छिट्टै नै विद्युतको भोल्टेज बढाएर कालीगण्डकीबाट लिफ्टिङ गरेर डुंगा चलाउने छौँ” उनले भने । कृत्रिम ताललाई विकास गरेर फेवातालको झल्को दिने तालपोखरामा सञ्चालन हुँदै आएको डुंगा पानीको अभावमा अहिले बन्द गरिएको छ ।

रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको तालपोखरामा डुंगा सञ्चालनमा आएपछि पर्यटकको ह्वात्तै आकर्षण बढेको थियो ।  दिनहुँ सयौँको संख्यामा तालपोखरामा डुंगा सयर गर्नेको चहलपहल बढेको थियो । वर्षायामका बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी फेवातालको झल्कोस्वरुप तालको रुपमा परिणत गरिएपछि यस तालपोखराले ठूलो संख्यामा दिनहुँ पर्यटक भित्र्याउन सफल भएको थियो । अहिले तालपोखरामा डुंगा सयर गर्न आउने पर्यटक त्यत्तिकै फर्कन बाध्य भएका छन् ।  तालपोखरामा डुंगा सञ्चालनमा ल्याएपछि डुंगामा चढेर तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा गर्ने, घुम्ने र फर्कनेको निकै उत्साह बढेको पाइन्थ्यो  । अहिले पानीको अभावमा तालपोखरामा डुंगा सञ्चालन बन्द हुँदा सबैको चिन्ताको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ