काठमाडौं। फोटोपत्रकार पुर्णिमा श्रेष्ठले सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेकीछन्। फोटो पत्रकार क्लबको सदस्य श्रेष्ठले शनिबार बिहान ८ वजेर १० मिनेटमा शिखर चुमेकी हुन् । सफल आरोहणसँगै श्रेष्ठ सर्बोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकीछिन् ।
सर्बोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल फोटो पत्रकार पुर्णिमाप्रति फोटो पत्रकार क्लबले खुसी व्यक्त गर्दै, यो नेपाली फोटोपत्रकारिता जगत तथा फोटोपत्रकारको लागि गौरवपुर्ण क्षण भएको जनाएको छ।
गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघी २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन् ।
आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छन् ।
नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ नेपाल पर्यटन बोर्डको ३ फोटो नेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन् ।
पाँच वर्ष देखि फोटो पत्रकारितामा सक्रिय पुर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन् ।