arrow

अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

मन्त्रालय मातहत निकायले दैनिक कार्यप्रगति पेश गर्नुपर्ने

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
airport-opning.JPG

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।  मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो ।

विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर भएर काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिए ।

“हाम्रो उद्देश्य विमानस्थल २१ घण्टा हुँदै २४ घण्टा सञ्चालन गर्ने हो, हाललाई २१ घण्टा पूर्णरुपमा सञ्चाल हुनुपर्छ, उड्डयन सेवालाई चुस्त र प्रभावकारी तुल्याउन सबै निकाय सकारात्मक र समन्वयात्मक ढंगले परिणाम निक्लनेगरी काम गर्नुस, विभिन्न बहानामा अब पनि उम्कने छुट कसैलाई छैन,”–उनले भने।

पर्यटनमन्त्री अधिकारीले हालको आठ घण्टे कार्य समयबाट देशको विकास संभव नहुने बताउँदै भिन्न सिफट्मा २४ सै घण्टा कार्यक्षेत्र बनाई कम्तीमा हवाई क्षेत्र, पर्यटन उद्योगले सुरुवाती पहल गर्नुपर्नेमा जोड दिए ।

मुलुकको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउन उपलब्ध स्रोत साधन तथा पूर्वाधारको उच्चतम प्रयोग गरी व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याइनुपर्ने उनले बताए ।

पर्यटन मन्त्रालय मातहतका महाशाखा, निकायले दैनिक कार्यसञ्चालनको प्रगति मन्त्री र सचिवसमक्ष पेश गर्नुपर्ने भएको छ । पर्यटनमन्त्री अधिकारीले दैनिक के कस्ता काम भए, कुन काममा बाधा व्यवधान आयो, सोको विवरण बुझाउने व्यवस्था आजैबाट सुरु गर्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिए ।

“भैराछ भन्ने प्रवृत्तिले अब चल्दैन’ उनले भने, अन्तर्राष्ट्रिय उडान होल्ड गरे अब कानुनी कारबाही हुन्छ ।”  सबै निजी एयरलाइन्स सरकारी नियममा चल्नुपर्ने र यदि त्यसो नभए उनीहरुको विमानस्थलबाट सेवा सञ्चालन गर्न नसक्ने मन्त्री अधिकारीको भनाइ छ ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विमानस्थलको २१ घण्टे सेवाको प्रभावकारी सञ्चालनका लागि मन्त्री, सचिव र महानिर्देशकबाट बेलाबखत अनुगमन गरिने र काममा लापर्वाही गर्नेलाई कानूनी कारबाही गरिने अठोट व्यक्त गरे।  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले विमानस्थल २१ घण्टा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनलगायत सबै तयारी पुरा भएको उल्लेख गरे।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे।  भन्सार विभागका महानिर्देशक तोयम राय र अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लले विमानस्थलको २१ घण्टे सेवालाई व्यवस्थित र सुदृढ बनाउन हरतर्फले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पुर्‍याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ ।  यसैबीच विमानस्थल प्रस्थान गर्ने मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश गर्नमात्रै दिइनेछ भने बाहिरिनका लागि सिनामंगलतर्फ निर्माण भएको नयाँ गेट प्रयोग गर्नुपर्नेछ ।

उक्त गेट तथा पार्किङस्थलको समेत पर्यटनमन्त्री अधिकारीले आजै उद्घाटन गरे। यस्तै अग्नि नियन्त्रणका लागि ‘कमाण्ड कार’ समेत सञ्चालनमा ल्याइएको छ । विमानस्थलको आन्तरिकतर्फ यात्रु र सामान ल्याउने सडकलाई एकतर्फी गरिएको छ । यसअघि एउटै बाटोबाट गाडी आउने र फर्कने गर्थे भने अब फर्कने अर्कै सडकको व्यवस्था गरिएको छ ।

मालसामान जाँचका लागि ‘सेक्युरिटी स्क्रिन प्रणाली’ सञ्चालनमा ल्याइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ