सुन बोकेको अभियोगमा दुई नेपाली चीनको ल्हासा कारागारमा
प्रकाशित २०७५ जेठ १२ शनिबार
221
Shares
रसुवा। सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् ।
अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए ।
यस्तै नेपालमा अवैध रुपमा सुन भित्रिएको विगतका घटनाक्रमलाई ध्यानमा राखी यस्ता गैरकानूनी क्रियाकलाप बन्द गरिदिन नेपाली पक्षले समय समयमा हुने गरेको सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थालेबाट अबका दिनमा यस्ता गैरकानूनी काम अन्त्य गर्न मद्दत मिलेको नेपाल प्रहरीले जनाएको छ । रासस