रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई
प्रकाशित २०७५ जेठ १४ सोमबार
656
Shares
विराटनगर। नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ ।
सोमबार बसेको युनियनको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी युनियनका पूर्वअध्यक्ष हुन् । उनी रेडियो नेपालमा कार्यरत छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेका रिजालको नाममा युनियनले पुरस्कार स्थापना गरेको हो ।
आफ्ना बाबुआमाको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी छोरा सुभाष रिजालले २ लाख रुपैयाँको अयक्षकोष खडा गरेका छन् । अक्षयकोषको ब्याजबाट हरेक वर्ष युनियनको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । अध्यक्ष नवोदितका अनुसार छिट्टै विशेष समारोहका बीच पुरस्कार प्रदान गरिनेछ । यसअघि यो पुरस्कारबाट अजित तिवारी र अभयकुमार राई सम्मानित भइसकेका छन् ।