समयमै आयोजनाको काम नसक्ने व्यवसायीलाई कारबाही गर्न माग
प्रकाशित २०७५ जेठ १६ बुधबार
775
Shares
पाँचथर । 'उन्नति समावेशी आर्थिक विकाश' कार्यक्रम अन्र्तगत पाँचथर जिल्लामा संचालनमा रहेका सडकका योजनाहरुको काम अपेक्षाकृत नभएपछि सरोकारवालाहरुले हेलचेक्रयाई भएको भन्दै हेलचेक्रयाई गरी समयमा आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् ।
पाँचथरको फिदिममा आज आयोजित उन्नति समावेशी कार्यक्रमको प्रगित समिक्षा कार्यक्रममा वोल्ने सरोकारवालाहरुले यस्तो बताएका हुन् ।कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले कामनै नगरी विना कारण पन्छिन खोज्ने र कामै नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई पक्राउ गरी कारवाही गर्न समेत प्रहरी प्रशासन पछि नपर्ने बताए ।
उन्नति प्रोजेक्ट पाँचथरका इन्जिनियर नारायण केशीले थपिएको सम्झौता अविधमा समेत काम गर्न नसक्ने निर्माण ब्यवसायिको ब्लाक लिष्टमा राखिने बताए ।
यस्तै नेकपाका नेता मेदनी खत्रीले विभिन्न बहानाबाजी गरी कामै नगरी उम्किन खोज्ने निर्माण ब्यवसायिलाई कानुन बमोजिम कारवाही गर्न प्रहरी प्रशासन खुटा कमाउन नहुने बताए ।
यस्तै जिल्ला समन्वय समिती प्रमुख बिमल सापकोटाले अव पनि कामको रफतारलाई अघि नबढाउने भए कानुन बमोजिम कारवाहीका लागि त्यस्ता निर्माण व्यवसायीहरुलाई आफूले सिफारिस गर्ने बताए ।
कार्यक्रममा वोल्दै निर्माण ब्यवसायि केदारनाथ बास्कोटाले निरन्तरको झरी,वर्षाद,आवश्यक सामाग्रीको अभाववका कारण समयमै काम गर्न नसकिएको बताए ।
जिल्लामा अहिले उन्नती समावेशी कार्यक्रम अन्र्तगत ११ वटा सडक योजनाहरु संचालनमा रहेका छन् । त्यसमध्ये २ वटा योजनाहरुको काम सकिएको जिल्ला समन्वय समिती अन्र्तगत प्राविधिक कार्यालय प्रमुख जयराम श्रेष्ठले बताए ।
सप्तमी सराङडाँडा सडक र जोरपोखरी काहुले सडक मर्मतको उपभोक्ता समिती तर्फको काम भने सकिसकिएको छ । यस्तै बाँकी ९ वटा योजनाको काम सकिन बाँकी रहेको देखिन्छ । काहुले एकतिन मेमेङ सडक खण्ड १ को काम अहिले ७० प्रतिशत सकिएको छ भने खण्ड २ को ४० प्रतिशत काम सकिएको छ । सुम्निमाचोक—रानीटार सडकको ६० प्रतिशत,काहुले चरिभन्ज्याङ ओयाम सडकको ४५ प्रतिशत,खेवाथाम खोला सडक पुलको ९५ प्रतिशत, जोरपोखरी काहुले सडक मर्मतको ठेक्का तर्फको ६० प्रतिशत,गुम्बाडाँडा पौवासारताप सडक निर्माणको ४० प्रतिशत र उत्तरे यासोक सडक निर्माणको काम उपभोक्ता समिती मार्फत २० प्रतिशतमा सकिसकिएको छ ।
उन्नतिले ५६ करोड ७२ लाख ५० हजार रुपैयाको लागत अनुमान गरिएपनि,४५ करोड २० लाख ५१ हजार रुपैयामा ठेक्का सम्झौता भएको थियो । जसमा अहिले सम्म २० करोड ६३ लाख ८२ हजार रुपैया खर्च भइसकेको छ । अहिले सम्मको खर्च विवरण हेर्ने हो भने जम्मा ४५.६५ प्रतिशत खर्च भइसकेको उन्नति समावेशी परियोजनाले जनाएको छ ।