पहिलो पटक बोक्सादीमा पुग्यो गाडी, पुरा भयो स्थानीयको सपना
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २६ शनिबार
1.1k
Shares
पाल्पा, (माथागढी) । माथागढी गाउँपालिका वडा नम्वर २ बोक्सादीमा मोटरबाटो पुगेको छ । १५ वर्ष अघि कसेनी सम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साविकको वडा ९ दमार र बोक्सादीका जनताले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीहरुको सपना भने शनिबार पूरा भएको छ ।
आफ्नो जीवन्तकालमा गाउँका डाडापाखामा गाडी गुडेको हेर्ने सपना थियो बोक्सादीवासिहरुको । जीवनभर यिनै सपनाहरु संहाल्दै बसेका सम्पुर्ण बोक्सादीवासीहरुको गाउँ आगनमा पहिलो पटक जीप पुगेपछि उनीहरुमा खुसीको कुनै सिमा रहेन । ‘सन्तान हुर्कीए । तर गाउँमा बाटो बनेन । ‘४५ वर्षिया दिलमाया सारु हर्षविभोर हुदै भनिन ‘नातीनातिनाले मात्रै देख्न पाउँलान् जस्तो लाग्थ्यो । आफैले देख्न पाए ।’ गाउँमा पहिलो पटक घरकै आगन आगाडि जीप आउँदा यस्तै खुसी पोखिन् मिना सारुले पनि । यी दुईसंगै सम्पुर्ण वाडावासीका मनमा खुसी र उत्साह छायो, जब माथागढी गाउँपालिका २ मा कसेनी, दमार हुँदै बोक्सादीमा पहिलो पटक लु १ च ६१३९ नम्बरको जीप पुग्यो ।
शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडां २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउँने चालक तीलक रिजेललाई अबिर र मालाले स्वागत गरे वडावासीहरुले । गाउँपालिकाको दश लाख सहयोग र २ लाख बराबरको श्रमदानबाट र्निमित सडकको गापाकी उपाध्यक्ष भट्टराईले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन् । सडकको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी भट्टराईले यस क्षेत्रका स्थानीयको लामो समय देखिको सपना पुरा भएको बताइन् । उनले भनिन ‘अगामी वर्ष यस सडकलाई झडेवा सडक सञ्जाल सँग जोड्ने योजना रहेको छ ।’ वडा अध्यक्ष जनक रिजेलले लामो समयको प्रयास पछि वडामा सडक ल्याउन सफल भएको बताए ।
कार्यक्रममा कसेनी, दमार बोक्सादी मोटर बाटोका अध्यक्ष हरिमाया सारु, पूर्व वडा अध्यक्ष बलबहादुर थापा लगायतले आफ्ना धारणा राखेका थिए । ‘गाउँमा गाडी गुडेको देख्ने हामी बोक्सादीवासीहरुको सपना थियो’–उनीहरुले भने–‘अब भने गाडी चढ्ने सपना पुरा भयो ।’ अहिलेको २१ औँ शताब्दीमा धेरै सेवासुविधाबाट बञ्चित सुविधा त परै जाओस् गाउँमा गाडीसम्म नपुग्ने बाटो नहुँदा स्थानीयहरु आफैलाई दुर्गमवासी महशुस गर्दै आईरहेका थिए । केहीँलाई त आफ्नो जीवन्तकालमा गाडी गुडेका देख्न पाउँला भन्ने लागेको थिएन । गाडी पुगेसंगै उनीहरुमा अब भने निकै हौसला र उल्लाहस थपिएको छ ।
स्थानीहरुले गाउँमा स्थानीय सरकार आएपछि साच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको बताए । नियमीत सवारीका साधनहरु सञ्चालन हुने भएसंगै उनीहरुले अब भने सुगमको महशुश गरेका छन् । दैनिकी रुपमा सवारी साधन सञ्चालनमा ल्याएसंगै अब त्यहाँ स्थानीय बजारमा उत्पदान भएका खाद्य बस्तुहरु बजार सम्म पुर्याउन सहज भएको छ । गाउँमा उत्पदान हुने खाद्य बस्तुहरु बजारसम्म पुर्याउने यातायतको सुविधा नहुँदा समस्या भोग्दै आएका स्थानीयहरु दैनिक रुपमा गाडी सञ्चालनमा आउने भएपछि त्यहाँका कृर्षक एवं व्यवसाहीहरु हर्षित भएका छन् ।