व्यवसायीहरूको चुनौति ‘तस्करको प्रमाण पुर्याउ,कारवाही भोग्न तयार छौं'
तेजन खड्का,
प्रकाशित २०७५ असार ७ बिहिबार
251
Shares
उर्लाबारी । पूर्वेली क्रसर उद्योग र एचकेआर इन्डष्ट्रिजका सञ्चालकहरूले मङ्गलबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर आफू र आफ्नो उद्योगका बारेमा आएका सबै समाचारहरू कपोकल्पित,भ्रामक र असत्य रहेको बताएका छन् । पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र ओजन पानीको उत्पादक कम्पनी एचकेआर इन्डष्ट्रिजका सञ्चालकहरू धु्रवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले विज्ञप्ति निकालेर केही दिनयता पत्र पत्रिका र अनलाइन न्यूज पोर्टलमा आफ्ना उद्योगका बारेमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराईले उद्योग र आफ्नो ब्यक्तिगत चरित्र हत्या कुत्सित मनसायले समाचार आएको भन्दै समाचार प्रति गम्भिर रुपमा ध्यानाकर्षण बताएका छन् । उनले विज्ञप्ति मार्फत भनेका छन्– पत्रकारिता जस्तो मर्यादित पेशामा रहेर अमर्यादित ढंगले काल्पनिक समाचार प्रकाशित गर्दा सिंगो सञ्चार जगतको अपमान भएको हामीले महसुस गरेका छौं ।उनले विज्ञप्तिमा भनेका छन्–‘ उद्योग मापदण्ड विपरित रहेको प्रमाण सहित आए कानूनी कारवाही भोग्न तयार छौ । ‘तस्कर’ प्रहरी कनेक्सन’ ‘व्यवसायमा शंकास्पद’ कसरी भयो ? प्रमाणित गर्न चुनौति दिँदै विज्ञप्तिमा कम्पनीले कुनैपनि गैर कानूनी रुपमा काम गरेको प्रमाण भए प्रमाण पुर्याउन मिडिया हाउसलाई चुनौति दिइएको छ । विज्ञप्तिमा स्वतन्त्र रुपमा व्यावसाय गर्ने अधिकार हरेक नेपाली नागरिकसँग भएको उल्लेख गर्दै पत्रपत्रिकामा काल्पनिक समाचार छापेर आम पाठकलाई गलत सुचना दिईरहदा सम्बन्धित निकाय किन मौन छन् ?विज्ञप्तिमा प्रश्न उठाइएको छ ।
उद्योगले दैनिक सरदर ६० हजार रुपैंयाँ राज्यलाई राजश्व तिरिरहेको उल्लेख गर्दै सामाजिक क्षेत्रमा उद्योगले उल्लेखनीय योगदान पुर्याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सामाजिक कार्यलाई ओझेलमा पारेर आम पाठकलाई गलत सुचना दिई आफ्नो र उद्योगको बद्नाम गराउने गरी समाचार प्रकाशित भएको बताइएको छ । भट्टराईले आफू मनोहर सामुदायिक बन उपभोक्ता समुहको निर्वाचित अध्यक्ष भएको बताउँदै आम उपभोक्ताको मत पाएर निर्वाचित भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘तस्कर’ जस्ता शब्द प्रयोग गर्दा मेरो मात्र होईन आम वन उपभोक्ताको मान मर्दन भएको छ ।
उनले रात दिन पसिना बगाएर काम गरेको समेत जनाएका छन् । भट्टराईले गैर कानूनी धन्दा गरी अकुत सम्पति कमाएको प्रमाण पुर्याउन समेत चुनौति दिएका छन् । छानविन गर्न चाहे जुनसुकै बखत कागजात दिन तयार रहेको उनको भनाई छ । मापदण्ड पुगेको कागजात राज्यबाट पाएर उद्योग सञ्चालनमा आएको भन्दै भट्टराई पत्रपत्रिकालाई मर्यादित हुन समेत अनुरोध गरेका छन् ।
यस्तै ओजन पानीका सञ्चालक द्वय धु्रवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले समेत विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो उद्योग र व्यवसायीका विषयमा मिथ्या कपोकल्पित र भ्रामक समाचार छापेर हाम्रो व्यक्तिगत चरित्र हत्या गर्ने कुत्सित प्रयास प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
पराजुली र श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्–‘ उद्योगबाट उत्पादित पानी अशुद्ध भए हामी शुद्ध बनाउने प्रविधी र गुणस्तर सुधारका लागि तयार छौं । सम्वन्धित सरोकारवाला सरकारी निकायले दिएको निर्देशन अनुसार पानीमा सुधार गर्ने बचनबद्धता सरकारी निकायलाई दिएको र खाद्य तथा गुणस्तर विभागले असार मसान्त सम्ममा सुधार गर्न भनेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ९ महिना अघि उर्लाबारी—८ का गणेश बिष्टले फेला पारेको ‘लेदो’ सहितको पानी देखाएर उद्यमीलाई बारम्बार धम्काउने तर्साउने काम प्रति प्रकट गरिएको छ । पानीको म्याद सकिएको एउटै बोतल पटक पटक देखाएर अखबारको साथमा हामीलाई तर्साउने कार्यले आम पत्रकारिताको मानमर्दन भएको हाम्रो ठहर छ – सञ्चालक द्वयले विज्ञप्तिमा लेखेका छन् ।
कम्पनी सञ्चालन,नामसारी,ठाउँसारी या बन्द गर्ने अधिकार स्थानीय सरकार सन्चालन ऐन २०७४ ले सम्बन्धित वडाअध्यक्षमा निहित राखेको विज्ञप्तिमा उल्लेख छ । तर उद्योग रहेको वडा नम्बर ६ का अध्यक्ष कार्यालयमा मै भएको अबस्थामा अर्को वडाका अध्यक्षलाई रोहवरमा रार्खी उद्योगमा शिल गर्नु सुनियोपजत षडयन्त्र भएको विज्ञप्तिमा उल्लेख छ । हरेक वर्ष राज्यलाई कर तिरी उद्योग नवीकरण गरेको उल्लेख गर्दै पत्रकारिता जगतलाई समाचार लेख्ने कुरामा कुनै रोक टोक नभएपनि यथार्थ र वास्तविकता बुझेर कलम चलाईदिनु हुन आग्रह गरिएको छ ।
उर्लाबारीमा मात्र होईन,अन्य प्रहरी कार्यालयमा पनि उद्योगी व्यापारीसँग सहयोग लिई तार,वार,घेराबारा गेट निर्माणका कामहरु हुने गरेकोले सोही अनुरुप गेट बनाउन अन्य ब्यापारी व्यवसायीको सहयोगमा हामीले ईलाका प्रहरी कार्यालय उर्लाबारीको गेट लगाएको सत्य हो – विज्ञप्तिमा भनिएको छ । यद्यपि मोवाईल सेट बाढेको,प्रहरी कनेक्सनकै कारण छोटो समयमा ह्वात्त आर्थिक स्तर उकासेको, शंकास्पद कारोबार गरेको बिषयप्रति हाम्रो गम्भिर आपत्ति छ । सो कार्यमा हामी संलग्न भएको प्रमाण मिडियाले पुर्याउन सक्छ भने हामी जुनसुकै कानुनी कारवाहि भोग्न तयार छौ ।
हामीले प्रहरीसँग कुनै सम्बन्ध राखेर अबैध गतिविधी सन्चालन गरेको छैन् । मिडीयाले भाम्रक र तथ्यहिन समाचार प्रकाशित गरेर आम सञ्चारको मुल्य मान्यताको नै धज्जी उडाएको हाम्रो निष्कर्ष हो । प्रहरीसँग फोटो खिच्दैमा हामी तस्कर र अबैध कारोबारी हौ भने प्रहरीसँग फोटो खिच्ने अरु ब्यक्ति के हुन ? हामी सम्बन्धित मिडियासँग प्रश्न गर्न चाहान्छौं पराजुली र श्रेष्ठको विज्ञप्तिमा उल्लेख छ ।