arrow

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
khotang-district.png

खोटाङ । लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ ।

वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव शहरमान राईले बताए ।

विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीयबासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् ।

आयोजनालाई पुनःमर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्निप्रसाद राईले बताए । आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करीब एक महिना लाग्ने राईले सुनाए ।

उक्त हाइड्रोपावरमा विसं २०७२ मा गएको भूकम्पले करीब २१ लाख बराबरको क्षति पुर्‍याएको थियो । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँ तथा नगरपालिकामा आफ्नै लगानीमा हाइड्रोपावर सञ्चालन गरिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ