arrow

ट्याङ्कर देखि जारसम्मको सबै पानी पिउन अयोग्य

सर्वसाधारणको स्वास्थमाथि चरम लापरवाही

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
jar-water1.jpg

काठमाडौं । सर्वसाधाराणले पिउनका लागि प्रयोग गर्दै आएको जारको पानी नै मापदण्ड विपरित रहेको पाइको छ । इनार, ट्याङकर तथा धाराको पानी पिउनका लागि  योग्य नरहेको भन्दै सर्वसाधारणले जारको पानी खरिद गरेर प्रयोगमा ल्याएपनि जारकै पानी पिउन अयोग्य रहेको पाइएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको अधिकांश जारको पानी पिउन अयोग्य रहेको पाइएको हो ।प्रतिष्ठानले काठमाडौं उपत्यकाका विभिन्न विद्यालय, होटेल, सार्वजनिक स्थानमा राखिएको ५० ब्राण्डका ५० वटा नमुना संकलन गरेर परिक्षण गरेको थियो । परिक्षणको क्रममा अधिकांश पानी पिउन अयोग्य निकस्केको नाष्टका बरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले जानकारी दिए ।

पन्तका अनुसार पानीमा मापदण्ड विपरित अमलियपना, कोलीफर्म र इकोलाई जस्ता हानिकारक जीवाणु पाइएका छन् । पानीमा कैफियत र असर नाष्टले गरेको परिक्षणमा पानीमा हुने अमलियपना पिएच साढे ६ भन्दा कम र बढीमा पीएच १२ सम्म समेत रहेको पाइएको हो । खानेपानी मापदण्ड अनुसार पानीमा अमलियपना प्रतिलिटर पीएच साढे ६ देखि साढे ८को बीचमा हुनु पर्दछ । डा.पन्तका अनुसार पानीमा मापदण्ड विपरित अमलियपना भएमा त्यसले मेम्ब्रेन र घाँटीको म्युकसमा असरमा पार्दछ । साथै घाँटी चिलाउने समस्या हुने समेत उनले बताए ।

त्यस्तै पानीमा रसायनको मात्रा २० प्रतिशत नमुनामा फेला परेको नाष्टले जानकारी दिएको छ । मापदण्ड अनुसार पानीमा रसायनको मात्रा सुन्य दशमलव ३ मिलिग्राम प्रतिलिटर हुनु पर्दछ । त्यो भन्दा तलमाथि देखिएमा त्यो मापदण्ड विपरित हुने उनको भनाई थियो ।त्यस्तै पानीमा फ्लोराइडाको मात्रा समेत मापदण्ड विपरित रहेको नाष्टले जानकारी दिएको छ । ५० ब्राण्डाका ५० नमुनामा गरिएको परिक्षणमा ९ वटा ब्राण्डमा (१८ प्रतिशत नमुना)मा मापदण्ड भन्दा बढी फ्लोराइड र २० प्रतिशतमा मापदण्ड भन्दा कम निस्केको छ । खानेपानी मापदण्ड अनुसार पानीमा फ्लोराइडको मात्रा सुन्य दशमलव ५ देखि १ दशमलव ५ मिलिग्राम प्रतिलिटर हुनु पर्दछ । पानीमा फ्लोराइडको मात्रा बढी भयो भने, हाड खिइने तथा दाँतमा प्वाल पर्ने सम्भावना हुने डा. पन्तको भनाई थियो । त्यस्तै फ्लोराइडाको मात्रा मापदण्ड भन्दा कम भएमा हड्डि कमजोर हुने उनले बताए ।

त्यस्तै ५० नमुनाको ७४ प्रतिशत नमुनामा इकोलाई जीवाणु  भेटिएको नाष्टले जानकारी दिएको छ । इकोलाई दिशामा पाउने जीवाणु हो । यस्तो पानीले मानिसमा हैजा रोग निम्त्याउने नाष्टका अधिकारीहरुको भनाई थियो । त्यस्तै ९२ प्रतिशत पानीमा कोलीफर्म भेटिएको छ । बरिष्ठ वैज्ञानिक अधिकृत पन्तले कोलीफर्मले आउ, हैजा लगायतका रोग निम्त्याउने बताए ।

बाँच्ने उपाय
उपभोक्ताले पिउनका लागि बढी जसो पानी जारको प्रयोग गर्ने भएकाले जारको पानीको गुणस्तर जाँच गरिएको नाष्टले जानकारी दिएको छ । ट्याङ्कर, बोतल र इनारको पानी सफा नहुने भएकाले उपभोक्ताले जारको पानीको प्रयोग गर्ने गरेका तर, जारको पानी समेत पिउन योग्य नरहेको नाष्टका अधिकारीहरुको भनाई छ । जारको पानी समेत पिउन योग नहुँदा नाष्टका बरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पत्नले यसाबाट बाँच्नका लागि उपभोक्ताले आफैं सचेत हुनु पर्ने बताए । सफा देखिँदैमा सबै पानी शुद्ध नहुने भन्दै उनले पानी उमालेर पिउनाले कोलीमर्फ र इकोलाई जस जीवाणु नष्ट गरेर पिउन मिल्ने बताए । पानी उमाल्नाले जीवाणु हट्ने र चिस्याएर पिउने गरेमा आउ, हैजा, झाडापखाला जस्ता रोगहरु निम्तिने सम्भावना न्युन रहने पन्तको भनाई थियो । जीवाणु हटाउनका लागि क्लोरिनको प्रयोग समेत गर्न सकिने तर, त्यसका लागि आवश्क जानकारी हुनु पर्ने उनको भनाई  थियो ।

नियमन कसले गर्ने
जार मार्फत खानेपानीको कारोबार गर्दै आएका पानी उद्योगहरु सञ्चालन गर्नका लागि अनुमति पत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपलब्ध गारउँदै आएको छ । उोग सञ्चालन अनुमति पत्र दिँदै आएकाले त्यस्ता उद्योगको नियमन तथा अनुमगन गर्ने दायित्व समेत विभागको भएको नाष्टका अधिकारीहरुको भनाई छ । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनमा चासो नदेखाउने गरेको जानकारहरुको भनाई छ ।

नाष्टले गरेको परिक्षण पछि त्यसको रिपोर्ट सहित उद्योगीहरुको नाम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइसकेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नाष्टले पठाएको रिपोर्ट सहित आवश्यक विश्लेषण भइरहेको बाएको छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले नाष्टले विभागमा पठाएको रिपोर्टको आवश्यक विश्लेषण भइरहेको बताए । ‘नाष्टले आफ्नो रिपोर्ट सहितको विवरण यहाँ पठाएको छ’ उनले भने, ‘त्यसको हामी विश्लेषण गरिरहेका छौं ।’

विभागले निरन्त अनुगमन गरिरहेको र कैफियत अनुसार उद्योग विरुद्ध मुद्दा समेत चलाई रहेको विभागका अधिकारीहरुको भनाई थियो ।यसअघि नाष्टले पानी बोक्ने ट्याङ्कर र बोतलको पानीको समेत नमुना संकलन गरि परिक्षण गरेको थियो । सो क्रममा ट्याङ्कर र बोतलको पानी समेत पिउन योग्य नदेखिएको नाष्टका अधिकारीहरुले दावी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ