arrow

सिद्धबाबा सडकको बैकल्पिक ट्रयाक खुल्यो

‘आगामी बर्ष देखि लोड ट्रक सञ्चालनमा आउने’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार ८ शुक्रबार
siddhababa-baikalpik.JPG

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडक खण्डको बैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे नयाँ ट्रयाक खुलेको छ ।  आगामी आर्थिक बर्षभित्र यस सडकलाई  डवल लेनको रुपमा स्तर उन्नती  गरिने भएको हो ।  ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रवार केहि दिन अगाडि मात्र ट्रयाक खोलिएको बैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको २० किलोमिटर क्षेत्रको अनुगमन गर्दै आगामी बर्ष भित्र सडकको स्तर उन्नती गरी अर्को आर्थिक बर्ष देखी लोड ट्रकहरु यसै मार्गबाट सञ्चालन गर्न सकिने बताए ।

प्रदेश सरकारले झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको स्तर उन्नतीको लागि  आगामी बर्ष १० करोड रुपैयाँ विनियोजन गरेपनि रकम अपुग भएमा रकमान्तर गरेर भएपनि स्तरीय डवल लेनको सडक निर्माण पुरा गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।   सिद्धवावा क्षेत्रमा सुरुङ मार्गको चर्चा भईरहदा यो क्षेत्रको स्थलगत अवलोकन गर्दा भविष्यमा चौकीभञ्याङ क्षेत्र बाटै सुरुङ मार्ग निर्माण गर्नुपर्ने संभावन बलियो भएको मुख्यमन्त्री पोखरेलले बताए ।  जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय सरकारहरूले  लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पुरा भएको हो ।

झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गको ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, भौतिक योजनामन्त्री बैजनाथ यादव, प्रदेश सभासदहरु नारायण आचार्य, डा. पुरन बज्राचार्य, तुलाराम घर्तिमगर, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तिमगर लगायतको टोलीले अवलोकन तथा निरिक्षण गरेको हो । मुख्यमन्त्री पोखरेल सहितका ३० भन्दा बढी सवारी साधनले झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गमा वारपार गरेका छन ।

 प्रदेश सरकार भौतिक योजनामन्त्री  बैजनाथ यादवले सिद्धवावा क्षेत्रको बैकल्पिक सडकको रुपमा निर्माण भएको यस सडकलाई प्रदेश सरकारले नमुना योजनाको रुपमा काम गर्ने बताए । बैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाले १० लाख रूपैंया लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंया र देवदह नगरपालिका रुपन्देहीले १० लाख गरी १ करोड १० लाख रुपैयामा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।नयाँ बाटो निरीक्षण तथा अनुगमनपछि जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले गाउँपालिका र नगरपालिकाको आर्थिक सहयोग, पाल्पा र रूपन्देहीका जनताको सहयोगमा र सद्भावका कारण ट्रयाक खोल्न सम्भव भएको बताए ।

 सो वैकल्पिक मार्गको निर्माणले सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोले वर्षेनी हुने जनधनको क्षति रोक्ने विश्वास लिएको छ ।  झुम्सा चौकीभञ्ज्याङ् चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर रहेको छ । पाल्पाको झुम्सा चौकीभञ्ज्याङ ७ किलोमिटर र रूपन्देहीको चरङ्गे मुढाबास ७.५ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्याङ मुढाबास खण्डको करिव साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खोलेपछि झुम्सा चरङ्गे सडकले जोडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ