arrow

बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

logo
प्रकाशित २०७५ असार ९ शनिबार
buddha_air.jpg

काठमाडौं। बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ। बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६:३०, दिउँसो १:०० र साँझ ५:१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो।

मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्ध एयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणालगायत आवश्यक पूर्वाधार अध्यागमनर भन्सार छ महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनुभएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ। सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि नयाँदिल्लीको हवाई उडान करीब एक घण्टा १० मिनेटमा भर्न सकिने छ।

नेपालगञ्जबाट सीधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ। यसले प्रदेश नं ५ को बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ।

नेपालगञ्ज–नयाँ दिल्ली–नेपालगञ्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ। नेपालगञ्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ