arrow

काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् ५८ करोड भुक्तानी

logo
गोकर्णप्रसाद भण्डारी,
प्रकाशित २०७५ असार ९ शनिबार
sadk_nirman_(2).JPG

चरिकोट । दोलखा र सिन्धुपाल्चोकका निर्माण व्यवसायीलाई ५८ करोड भुक्तानी दिन बाँकी रहेको छ । डिभिजन सडक कार्यालय दोलखाले आव ०७४-०७५ का लागि विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेवापत सो रकम भुक्तानी दिन बाँकी रहेको हो ।

केही निर्माण व्यवसायीले भने काम गरेको रकम नपाएपछि निर्माण कार्य रोकेका छन् । दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानका सडक निर्माण गरेका ठेकेदारको हालसम्म कार्यालयले रु ५८ करोड रकम भुक्तानी गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारीले बताए ।

दोलखा र सिन्धुपाल्चोकका सडक निर्माण भइरहेको र निर्माण सम्पन्न गरेका ठेकेदारलाई कार्यालयले भुक्तानी गर्न नसक्दा दिनैपिच्छे ठेकेदारको गुनासो सुन्दै हैरान हुने गरेको लेखापाल होमबहादुर श्रेष्ठ बताउँछन् ।

ठेकेदारले रकम नपाएको भन्दै पटकपटक कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । स्वछन्द मस्तिङ जेभीका ठेकेदार हिमाल गुरुङ भन्छन्, “कार्यालयलाई रु नौ करोड रकम भुक्तानी दिनु छ, दिएको छैनन्, काम गर्न गाह्रो भो, रकम नदिए भनेको समयमा काम गर्न सकिँदैन ।”

कार्यालयले ठूला ठेकेदार कम्पनी र साना ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिन नसक्दा ठेकेदारले निर्माणमा काम गर्ने मजदूरलाई भुक्तानी गर्न सकेका छैनन् भने निर्माण सामग्री खरिद गरेको बिल भुक्तानीसमेत गर्न नसक्दा आगामी सरकारले निकाल्ने ठेक्कापट्टाको कामसमेत गर्न नसक्ने र बाँकी कामसमेत बिचैमा छोड्नु पर्ने अवस्था सिर्जना भएको महालक्ष्मी कन्ष्ट्रक्सन कन्सर्न प्रालिका साइड इञ्चार्ज तेजबहादुर भुजेल बताउँछन् ।

भुजेलका अनुसार रु आठ करोड लागतमा निर्माण शुरु गरिएको चरिकोट कालीञ्चोक सडकको आठ किलोमिटर र अन्यत्रका काम सम्पन्न गरेर कम्पनीले करीब रु चार करोड रकम भुक्तानी लिन बाँकी छ ।

पेटी ठेकेदारलाई भुक्तानी गर्न, रड, सिमेन्ट, बालुवा, गिट्टी इकुमेन्टको खर्च, डिजेललगायतको खर्च तिर्न नसक्दा ठेकेदार समस्यामा परेको भुजेलको भनाइ छ ।

कार्यालयले करीब १० वटा ठेकेदार कम्पनीको रु ५० लाखदेखि चार करोडसम्म रकम भुक्तानी गर्न सकेको छैन । जिरी शिवालय सडक, चरिकोट दोलखा सडक, सिन्धुपाल्चोकको केही सडकलगायत विभिन्न सडक आयोजनाको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

बजेट विनियोजन हुन नसक्दा र अर्थ मन्त्रालयले बजेट नदिँदा ठेकेदारलाई रकम दिन नसकिएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । स्थानीय निकायमा योजना लैजाने सरकारी नीतिका कारण साउनदेखिको रकम ठेकेदारलाई दिन नसकिएको र अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेकाले चाँडै बजेट आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ