पाल्पा । जग्गा भाडाँमा लिई तरकारी खेती गर्दै आएका व्यवसायिक कृषकले खनजोतको लागि हाते ट्याक्टर पाएका छन । कृषि उत्पादनमा यान्त्रिकरण गर्दै व्यवसायिक उत्पादन बढाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जोन ईकाई पाल्पाले पूर्ण नि:शुल्क रुपमा हाते ट्याक्टर वितरण गरेको हो संघीय सांसद सोम प्रसाद पाण्डेले तानसेन नगरपालिका वडा ९ का अनिल खवासको परिवारलाई हाते ट्याक्टर वितरण गरे ।
हाते ट्याक्टर वितरण गर्दै संघीय सांसद एवं पुर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले जनशक्तिको अभाव भईरहेको समयमा उत्पादन बृद्धिको लागि कृषि क्षेत्रमा यान्त्रिकरण अनिवार्य बन्दै गएको बताए । सरकारले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई विभिन्न किसिमका यन्त्रहरु सहयोग गर्दै जाने पुर्वमन्त्री पाण्डेले बताए ।
रोजगारीको लागि विदेशिने र खेतवारी बाझै राखी शहरमा बसोवास बढ्दै गएको समयमा अनिल जस्ता व्यवसायिक कृषकहरुलाई टिकाई राख्न र उनीहरुले गर्दै आएको व्यवसायिक तरकारी खेतीमा हौसल्ला प्रदान गर्नको लागि हाते ट्याक्टर सहयोग प्रदान गरिएको जोन पाल्पाका प्रमूख रामप्रसाद पाण्डेले बताए । अनिल खवासको परिवारले विगत बर्ष देखि १२ रोपनी जग्गा भाडाँमा लिई व्यवसायिक तरकारी खेती गर्दै आएका छन ।
कृषक खवासले हाल खुर्सानी, तने बोडि लगायतका तरकारी उत्पादन गर्दै आएका छन । खनजोतको लागि कोदालो प्रयोग गर्दा काममा ढिलो हुन र मानविय श्रम बढी लाग्ने, ज्याला खर्च बढी हुने, चाहेको समयमा कामदार नपाईने समस्या भईरहेको समस्यामा ट्याक्टरको प्रयोगबाट काममा सजिलो र खर्च कम हुने कृषक खवासले बताए ।