arrow

तानसेन चापपानी राम्दी सडकमा ओटासिल

राम्दी सडक खण्डको बैकल्पिक मार्ग बन्ने

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार १९ मंगलबार
ramdi-sadak.jpg

पाल्पा । तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडक खण्डको बैकल्पिक मार्गको रुपमा चिनिएको चिलाङ्दी चापपानी राम्दी सडकमा वटासिल (कालोपत्रे गर्ने अवस्था) गरिएको छ । तानसेन चापपानी राम्दी सडकको १५ किलोमिटर सडक मध्ये ८ किलोमिटर क्षेत्रमा ओटासिल गर्ने काम  भएको हो ।

जसमा पाँच किलोमिटर ओटासिल भइसकेको र बाँकी तीन किलोमिटर सडकमा काम भइ रहेको छ ।  सम्झौता अवधिसम्म  काम नभएको अवस्थामा थपिएको ६ महिनाको अवधिमा  निर्माण कम्पनीले ८ किलोमिटर मध्ये ५ किलोमिटर सडकको ओटासिल गरेको हो । धुलो र हिलो बाटोबाट हैरान भएका उत्तरी पाल्पाका जनता सडकमा ओटासिल भएपछि खुशी भएका छन्। जिल्लाको ठूला विकास निर्माणको अनुगमन गर्ने, विकास निर्माणलाई चुस्त दुस्त बनाउने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएकोले चिलाङ्दी चापपानी राम्दी सडकमा देखिएका अवरोधमा सहजिकरण गरेको  प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए ।

१५ महिने सम्झौता अवधि भित्रै काम सक्ने गरी सामग्रीहरु जुटाइएको थियो तर विभिन्न पक्षहरुको अवरोधका कारण काम गर्न सकिएको  थिएन्, पछिल्लो समय उपभोक्ता समितिको पुर्नगठन भएपछि काम गर्ने वातावरण मिलेको  निर्माण व्यवसायी रामप्रसाद भट्टले बताए । विभिन्न पक्षको अवरोधका कारण सम्झौता अवधिमा सडकमा कुनै काम हुन सकेको थिएन् ।  निर्माणाधिन सडकको उपभोक्ता समितिको जिम्मेवारी लिएपछि  निरन्तर सरोकारवाला निकाय संग समन्वय गर्ने, सडक निर्माणमा देखिएका विभिन्न अवरोधहरुमा सहजिकरण गरी सडकको ओटासिल गर्ने काममा लागेको  अध्यक्ष भगवान भण्डारीले बताए ।

अहिले यो सडक जिल्लाकै नमुना सडकको रुपमा निर्माण भईरहेको छ। राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण आयोजना (एसएनआरटिपी) मार्फत् कामको जिल्ला प्राविधिक कार्यालय पाल्पाले रेखदेख गर्दै आएको छ । आयोजनाका सपोर्ट  इञ्जिनियर मुकुन्द थापाले सडकको सिधा क्षेत्रमा साढे ४ मिटर, घुम्ती तथा मोडहरुमा ७ देखी ८ मिटर सम्म वटासिल गरिएको केहि महिनापछि पिच ओटासिल मजबुद भएपछि पुन सडक सफा गरी अलकत्र राखेर मसिनो गिट्टी वालुवा राखेर सेनसिल गरिने बताए ।  

२०७५ असार १६ गते सम्म कामको अन्तिम म्याद भएपनि काम पूर्ण रुपमा नसकिएकोले केहि महिना पुन म्याद थप गरी सम्पूर्ण काम पुरा गर्ने गरी काममा खटिएको  ईन्जिनियर थापाले बताए । विश्व बैंकको ८ करोड ३१ लाख रुपैयाँको सहयोगमा एसएनआरटिपि परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि ओटासिलका लागि जय रक्तकाली निर्माण कम्पनीले २०७३ असोज ३ गते १५ महिने सम्झौता गरेको थियो ।  

२०७४ साल पुष २० गते सडक पिच सम्झौता अवधि सकिएको थियो । निर्माण कम्पनीले थपिएको ६ महिनामा ओटासिलको काम गरेको हो । चिलाङ्दी चापपानी तथा राम्दी सडक उत्तरी पाल्पाको प्रमुख सडकको रुपमा रहेको छ । सडक पूर्ण रुपमा पिच भएपछि तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडक अवरुद्ध भएमा बैकल्पिक मार्गको रुपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिने छ । सिद्धार्थ राजमार्गको तानसेन राम्दी भन्दा यो सडक १५ किलोमिटर छोटो दुरीमा रहेको छ ।  उत्तरी पाल्पाका जनताहरु स्याङ्जा गल्याङ, वालिङ तथा पुतलीबजार पोखरा लगायतका स्थानमा आवतजावतको लागि यो सडक प्रमुख मार्गको रुपमा रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ