गुफामा थुनिएका १२ जनाको उद्धार गर्न गएका टोलीका सदस्यको मृत्यु
प्रकाशित २०७५ असार २२ शुक्रबार
711
Shares
एजेन्सी। थाइल्याण्डको एक गुफामा थुनिएका १२ जना फुटबल खेलाडी र प्रशिक्षकलाई उद्धार गर्न गएको थाइल्याण्डको जलसेनाको एक अधिकारीको ज्यान गएको छ। बाढीबाट प्रभावित बनेको गुफामा थुनिएका उनीहरुको उद्धारका लागि खटिएका समलमान गुनान नाम गरेका अधिकारीको ज्यान गएको हो।
थुनिएका मानिसहरुलाई अक्सिजन पुर्याउने उनको काम रहेको र सो काम पूरा गरेर फर्किने क्रममा उनी अचेत भई ढलेको र अस्पताल लग्नुभन्दा पहिला नै उनको ज्यान गएको बताइएको छ।
यसअघि नै थाइल्याण्डको जलसेनाबाट अवकाश पाएका गुनानले थाइल्याण्डमा आएको बाढीपछि उद्धारको लागि जनसेनाको टोलीमा सहभागिता जनाएका थिए। सो गुफामा १२ जना खेलाडीहरु र प्रशिक्षक थुनिएको दुई साता बितिसकेको अवस्थामा थाइल्याण्डको सरकारले उद्धारको कार्यलाई तीव्र बनाउने निर्णय गरेको हो।
थाइल्याण्डको यो कार्यमा एक हजारभन्दा बढी उद्धारकर्ताहरु खटिएका छन्। गुनानको मृत्युले उनीहरुको उद्धार कार्य थप कठिन हुनसक्ने बताइएको छ। थुनिएका खेलाडीहरुमा ११ देखि १६ वर्षका खेलाडीहरु रहेको छन् भने २५ वर्षीय प्रशिक्षक रहेका छन्।