arrow

सट्टेबाजी बजार फस्टाउँदा प्रहरी निरीह

logo
प्रकाशित २०७५ असार २४ आइतबार
sattebaji.jpg

काठमाडौं । विश्वकप फुटबल रुसमा चलिरहँदा त्यसको बाजी नेपालमा लाग्ने गर्छ । त्यो पनि हजार, लाख वा करोडमा हैन करोडौंमा । एक दुई जनाले होइन हजारौं जनाले । 

नेपालमा ठूलै रकमको चलखेल हुन्छ भन्ने कुराको जानकारी नेपाल प्रहरीलाई पनि छ । तर पक्राउ गरेर कार्वाही गर्न सक्षम देखिएको छैन । सम्भवतः कानुनकै अभाव भएको प्रहरीको भनाइ हुन आउँछ । 

अहिलेसम्म एक दर्जनको संख्यामा मात्र त्यस्ता सट्टेबाजहरु पक्राउ परेका छन् । प्रहरीले त्यस्ता सट्टेबाजहरु पक्राउ गर्न ठूलै संयन्त्र खर्च गरेको दावी पनि गर्छ । तर पक्राउ पर्दैनन् । 

यो धन्दा पहिलो पटक भएको हैन । वर्षौंदेखि चलिरहेको छ । फुटबलमा मात्र होइन अन्य खेलमा पनि पर्छ । सट्टेबाजहरु सामाजिक संजालकै प्रयोग गरेर खुलेआम व्यापार गरिरहेका छन् । त्यसमा आवद्ध भएर कयौं नेपालीले मोटै रकम डुबाएका पनि छन् । 

कसैको पक्ष नलागी खेल हेर्नुको मज्जा पनि आउँदैन भन्दै भर्खर फुटबल बुझ्ने बालबालिकादेखि वृद्धसम्मका फ्यानहरु यसमा झुम्मिएका छन् । घरमै आफूआफू बीच पनि पैसाको बाजी राख्छन् । 

घरबाट थोरे बाहिर आउनेहरु त अझ बढी रौसिँदै जान्छन् । त्यो क्रम बढ्दै बढ्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नजान्छ । यस्ता बेला सल्बलाउने टोले गुन्डाहरु बढी सक्रिय हुन्छन् । अनि ‘डन’ अन्तर्राष्ट्रिय बजारमा पुग्छ । 

प्रहरी किन रोक्न सक्दैन यसलाई ?
यस्तो सट्टेबाजी गर्नु र सामान्य रुपले बाजी राख्नु पनि जुवा ऐन अन्तर्गत कार्वाही हुन्छ । तर प्रहरी कानुन नै छैन भन्दै पन्छिरहेको छ । अर्कातिर प्रहरीले सक्रिय भएर त्यस्तालाई पक्राउ गर्ने पनि जनाइरहेको छ । 

आखिर अलमलमा प्रहरी किन छ त ? काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहनकुमार थापा दैनिक अर्बौंसम्मको बाजी लाग्ने गरेको जानकारीमा आए पनि पक्राउ गर्न नसकिएको स्वीकार्छन् । 

उनका अनुसार केही पक्राउ परेका छन् । एक दर्जनको संख्यामा पक्राउ पर्नेहरु टोलेगुन्डा, क्यासिनो खेलाडीहरु पनि रहेका छन् । क्यासिनोमा जान नपाएकाहरु अहिले यस्ता बेलामा सल्बलाउँछन् । अन्तर्राष्ट्रिय गिरोहसमेत यसमा लागेको जानकारी प्रहरीलाई पनि छ । 

डिएपी थापा सानातिना घटना पनि ठूलै अपराध अन्तर्गत पर्ने भए पनि जनमानसमा यो अपराध हो भन्ने नपरेको बताउँछन् । उनी मानिसमा डर भन्ने पनि नभएकाले गर्दा यो अपराध रोकिन नसकेको बताउँछन् । 

उनी इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलका बेलामा भएको सट्टेबाजहरु छोड्दाको पीडा सुनाउँदै भन्छन्, ‘करोडौंको खेल थियो तर कानुन अभावमा हामीले त्यत्तिकै छाड्नु पर्यो । 

अपराध हो भने त्यही अनुसार कार्वाही हुनुपर्ने हो । तर यो दशैंतिहारमा घरघरमा परिवारका आफन्तबीच रमाइलोका खेलिने जुवा भन्दा पनि चर्को हो । 

प्रहरी प्रवक्ताको यस्तो भनाई
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले प्रहरी मुख्यालय नीति निर्माणका तहमा बढी केन्द्रीत हुने भएकाले यो विषयमा तल्ला तहले हेर्ने बताए । उनले यसलाई महाशाखाले हेर्ने भन्दै त्यतै सम्पर्क गर्न सुझाएका थिए ।

त्यसपछि महाशाखामा सम्पर्क गर्दा यो विषयमा तत्थ्यांक राख्ने काम प्रहरी परिसरले राख्ने बताइयो । 

यसबाट प्रहरी मुख्यालयले यो विषयलाई गम्भीर रुपमा नलिएको स्पष्टै हुन्छ । अर्थात् यतिठूलो आपराधिक गतिविधिले मुलुकलाई गाँजिरहँदा प्रहरीको उच्च निकाय नीति निर्माण भन्दै बसिरहेको छ । यो गम्भीर विषयलाई नीतिमा ढाल्न सक्दैन ?

प्रहरीदेखि मिडियाकर्मी पनि बाजीबाज
डिएसपी थापा नेपाल प्रहरीभित्र पनि बाजी चल्ने गरेको स्वीकार्छन् । उनी भन्छन्, ‘मैले भने कि यसलाई अपराधका रुपमा कसैले लिएकै छैन ।’ अगाडि थप्छन्, ‘जो पनि बाजी थापिरहेका छन्, कोही सानो खेल खेल्छन् कोही ठूलै खेल खेलिरहेका छन् ।’

उनले मिडियाकर्मीहरु पनि बाजी खेल्ने गरेको पाएको बताए । उनी भन्छन्, ‘पत्रकार पनि खेल्ने गरेका छन्, सचेत वर्ग पनि बाजी खेल्छ, सचेतना कसलाई हो जगाउने ?’

उनले ‘प्रहरीले पक्राउ गर्नु भनेको तर्साउनका लागि मात्रै हो’ भने । जुवालाई रमाइलोका रुपमा लिँदा कतिपयको घरबारै डुब्न बेर लाउँदैन । 

खेल मनोरञ्जन हो । त्यसमाथि अर्को मनोरञ्जनका नाममा मोटो मोटो रकमको बाजी थाप्नु पक्कै पनि दुःखद हो । यसरी खुलेआम बढ्ने अपराधमा साना नानीबाबु पनि मिसिन थाले भने तिनीहरु भोलि गएर असली सट्टेबाज नबन्लान् भन्न सकिन्न । तसर्थ यस्ता बेलामा सरकारले विभिन्न काउन्सिलिङका माध्यमहरु पो अपनाउनतिर लाग्ने हो कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ