राजकुमार चार्ल्सले हिँडेको 'रोयल ट्रेक' व्युँताउने प्रयास
सरिता तिम्सिना पगेनी ।
प्रकाशित २०७५ असार २४ आइतबार
266
Shares
पोखरा। बेलायतका राजकुमार चार्ल्सले २०३९ सालमा कास्कीको बिजयपुरबाट शुरु गरेको पदमार्गलाई व्युँताउने प्रयास भएको छ। राजकुमार चार्ल्सले बिजयपुरको चाँपको चौरबाट शुरु गरेको पैदल यात्रा बिजयपूर माथिको चिन्तेको डाँडाँमा आएर एकरात बिताएका थिए। उनले कालिका,सौरे,लिपयानी, राम्चे हुँदै स्याकलूङको डाँडाँमा दोश्रो रात बिताएका थिए। रुपाकोटको चिसापानीमा तेश्रो रात बिताएका उनी बेगनास तालको जंगलमा चौथो रात बिताएर काठमाण्डौ फर्केका थिए ।
प्रिन्स चार्ल्स फर्केसँगै उनले पैदल यात्रा गरेको मार्ग एकाएक रोयल ट्रेकको रुपमा चर्चित बन्यो। प्रिन्स हिडेको मार्ग हामी पनि हिड्नुपर्छ भन्दै पर्यटकहरु आउने क्रम बढ्न थाल्यो। गाँउमा दिनमै २-३ सय पर्यटक भित्रिन थाले। पर्यटकीय गतिबिधि बढेसँगै स्थानीय उत्पादन बिके। पर्यटकलाइ सुबिधा दिन होटल खोल्ने क्रम शुरु गरियो । आमा समूहले पाटी पौवा बनाए। स्कूले बालबालिकाहरुले एक्सपोजर पाए।
२०५२ मा सशस्त्र द्धन्द शूरु भए यता भने यहाँको वाताबरण पहिले जस्तो रौनक रहेन। पर्यटक आउने क्रम घट्दै गयो, बदलामा डर त्रास बढ्दै गयो। गाँउ रित्तिने क्रमको शुरुवात भयो । २०५४ सालतिर मोटर बाटो खन्ने क्रम शुरु भएपछि भने रोयल ट्रेकको लागि आउने पर्यटकको संख्या ह्वातै घटेको रोयल ट्रेक संरक्षण बिकास संस्था कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले बताए ।
पर्यटक आउने क्रम घटेसँगै रोयल ट्रेकको चर्चा पनि ओझेलमा परेपछि रुपा पोखरा सम्पर्क समाज कास्कीले ट्रेकको प्रचार प्रसार गर्ने उदेश्यले रोयल ट्रेक हाइकिङको आयोजना गरेको हो।
हाइकिङमा मन्त्रालयका कर्मचारी, क्याम्पसका प्राचार्य, ब्यबसायी, बिद्यार्थी, संचारकर्मीदेखि राजनीतिकर्मी र बिभिन्न संघ संस्थामा आबद्ध ब्यत्तिहरुको सहभागिता थियो।
पोखराको कालिकाबाट शूरु भएको हाइकिङ कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापति कृण्ण केसीले गरे। केसीले कास्कीमा पर्यटनका लागि प्रशस्त गन्तब्यहरु रहे पनि उचित प्रचारप्रसारको अभाबमा ओझेलमा पर्दे गएको बताए।
पोखरा २८ का वडा अध्यक्ष निर्मल दियालीले ऐतिहासिक महत्व बोकेको ट्रेकको प्रबर्दनका लागि सक्दो सहयोग गर्ने बताए । रुपागाँउपालिका वडा नं ७ का अध्यक्ष दयासागर सुबेदीले होमस्टे मार्फत गाँउमै स्वरोजगार सृजना गर्ने योजना रहेको बताए ।
रोयल ट्रेक हाइकिङका सहभागी प्राध्यापक श्रीकृष्ण पन्थीले रोयल ट्रेक अन्तर्गत पर्ने सबै क्षेत्रहरु भ्रमणको लागि उत्कृष्ट गन्तब्यको रुपमा रहेको भन्दै आगामी नयाँ बर्षमा साथीहरु सहित घुम्न आउने योजना सुनाए।
रोयल ट्रेक हाइकिङ कालिका, चिन्तेको डाँडा, सौरे, माझठाना, लिपयानी स्याकलुङ डाँडाँ टावर हुँदै रामकोट, सक्रभञ्जयाङ,मोहरिया हुँदै बेगनास तालमा आएर समापन भएको रुपा पोखरा सम्पर्क समाजका अध्यक्ष खेम बहादुर गुरुङले जानकारी दिए। कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा संचालन गरिएको थियो।