arrow

शाहीकालीन कलसाईनमै कति वर्ष विमान उडाउने हो मन्त्रीज्यू ?, ‘एक्सन’ नलिने ?

जिम्मेवार निकायका कर्मचारी एक दशकसम्म दोषारोपण मात्रै गरेर बसे  

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
rabindra-adhikari-uml.jpeg

काठमाडौं। गणतन्त्र आउनेवित्तिकै एउटा लहर चल्यो । शाही शब्द जोडिएका नाम देख्यो कि केरमेट गरिहाल्ने, त्यो पनि तुरुन्तै। गणतन्त्र घोषणा लगत्तै तत्कालीन ‘शाही नेपाली एयरलायन्स कर्पोरेशन’ (आरएनसी) को नाम समेत परिवर्तन भयो। र, राखियो  ‘नेपाल एयरलायन्स’ (एनएसी)। हतार हतार थियो त्यो। 

तर, गणतन्त्र बहाली भएको ११ वर्ष नाघ्यो। ११ पटक सरकार बन्यो। त्यतिखेर हतार–हतार गरेको निर्णयलाई कसैले फर्केर हेरेनन्। कुरा के भने, त्यो बेला राजा शब्दको गन्ध मात्रै हटाएर आमूल परिवर्तनको आवरण दिईयो। 

तर, अन्तर्राष्ट्रिय समूदायसँगकाे हवाई सम्बन्धकाे कुरालाई लिएर झसंङग हुनु पर्दैन। जसरी यसअघिका नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आईकाओ गएपछि झस्किएका थिए।

चक्कर खाएका थिए, उनले। हवाई क्षेत्रमै काम गरेकैले पनि उनी याे त हामी गलत गरिरहेका छाैँ भनेर झस्किन पुगेका थिए। उनीभन्दा अघि मन्त्री भएकाहरुले त्यसको मेलो मेसै पाउन सकेनन् वा वास्तै गरेनन् । तर, उनले प्रयत्न गर्दैछु भनेको मात्रै सुनियो। आखिरमा गरेको देखिएन। कुरा लुकाउनु पर्ने कुनै कारणै छैन। अहिले गज्जबको काम गरिरहेका नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पनि समयमै जानकारी पाउन् भन्ने हो।

किनभने प्रक्रिया मिलाउँदा मिलाउँदै, कर्मचारी फकाउँदा-फकाउँदै पाँच वर्ष त्यसै फुत्किएला भनेर। ‘यहाँ मन्त्रीज्यूप्रति पूर्वाग्रह राख्न खोजेको विलकुलै होईन।’ विधिमा चल्ने र थिति बसाल्ने भनिएको स्थिर सरकारकाे मन्त्री भएकाे नाताले याे विषय सुनाउन खाेजिएकाे मात्रै हाे।

सजिलो पनि छ। मन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रमा आमूल परिवर्तन ल्याउने अठोट राखेका छन्। त्यो आफैमा सकारात्मक छ, काम देखिँदै गएका पनि छन्। तर, उनी आफैले सन् २०२० लाई पर्यटन वर्ष भनि घोषणा गर्न लगाएका छन्, त्याे पनि सरकारकाे बजेटमै। त्यसको लागि विदेशी पाहुनाको सत्कार राम्रैसँग गर्ने तयारी समेत गरिरहेकै होलान्।

जहाँसम्म उनले विदेशी पाउनालाई झुक्याउने छैनन्। जसरी अहिलेसम्म झुक्किरहेका छन्। सन्दर्भ हो। नेपाल एयरलाईन्सका नाममा चलिरहेको राष्ट्रिय ध्वजावहाकको कलसाईनको। राष्ट्रिय ध्वजावहाक सबै विमानमा नेपाल एयरलाईन्स लेखिएको छ। तर, कलसाईन शाहीकालीन नै छ। विदेशी वा स्वदेशीले कुनै नाम चलेका अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न खोज्यो भने नेपाल एयरलाईन्स वा ‘एनए’ भनेर नभेटिन सक्छ। थुप्रै विमान चढेका नेपालीहरुले बारम्बार भन्दै आएका छन्, 'हामीले विरानो ठाउँमा विमान खोज्दा हैरानी खेप्नु परिरहेको छ। लज्जाबोध गरिरहनु परेको छ।’ कारण विमानको नाम एउटा छ। कलसाईन अर्कै। शाहीकालीन कलसाईन।

अन्तर्राष्ट्रिय वायु पारवहन संघ (आएटीए) मा नेपाली राष्ट्रिय ध्वजावाहकको कलसाईन रोयल एयर ‘आरए’ छ। र, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मा रोयल नेपाल एयरलाईन्स (आरएनए) छ। कलसाईन रोयल नेपाल नै छ। त्यो कलसाईन चलेको ६० वर्ष भएको छ। अहिले पनि त्यही छ। पाइलटले एयरट्राफिकसँग कुरा गर्दा पनि त्यही प्रयाेगमा अाउने हाे। 

नेपालले विमानको नाम एउटा र कलसाईन अर्को प्रयोग गर्दै आएको छ। यससम्बन्धका जानकारहरुले पटक–पटक उठाएको कुरा हो। कि रोयल नेपाल नै प्रयोग गरौँ नभए परिवर्तनका लागि पहल गरौँ। अहिलेसम्म त्यो हुन सकेन । विदेशी पाहुना र आफ्नै नागरिकलाई हामी झुक्क्याईरहेका छौँ। 

‘नेपाल एयरलायन्सको नामबाट टिकेट लिएका सेवाग्राहीहरु विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा अलमलमा पर्ने गरेका छन्। अन्योलताकाबीच र ठूलो जोखिम मोलेर एयरलाईन्स चलिरहेको छ। त्यसैत नेपाली आकाश सुरक्षित नरहेको र अन्तर्राष्ट्रिय मापदण्ड निभाउने सन्दर्भमा प्रफमेन्स राम्रो नभएको भनि आईकाओमा नेपाल विवादित छ।

जानकारहरु भन्छन्, ‘धन्न अहिलेसम्म कुनै अन्य मूलुकमा राष्ट्रिय ध्वजावहाक दुर्घटना भएको छैन। नभए के हुन्थ्यो होला।’ अनि अर्कोतिर। हामीले विमानमा राखेको ‘एनए’ नारेजेरियाको राष्ट्रिय ध्वजावहाकको कलसाईन हो। हामीले ‘एनए’ कलसाईनमा दावी गर्न पाउँदैनौँ। आईकाओले कि पुरानैलाई कायम गर वा नयाँको लागि प्रक्रियाबाट आउ भनिरहेको छ । सरकार गणतन्त्रको फुँई लगाएर मात्रै बसिरहने हो, भने अन्तर्राष्ट्रिय हवाई यातायातमा हाम्रो ईज्जत कसरी कायम रहला ? 

के भन्छन् कर्मचारी ? 
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले नेपालमा नेपाल एयरलाईन्स बनाएको करिब एक दशक भइसकेको बताए । उनले नेपाल एयरलायन्सले चाहेको अवस्थामा आईकाओलाई अनुरोध गरेर नाम परिवर्तन गर्न सक्ने बताए । त्यसका लागि एयरलाईन्सले नै आईकाओमा निवेदन दिनुपर्ने उनले दावी गरे। ‘यसअघि यति एयरलायन्स र सीता एयरलाईन्सले नाम परिवर्तन गरे जस्तै त्यो सकिन्छ’ उनले भने, ‘त्यसका लागि रिक्वेष्ट गर्नु पर्छ, ।’ अहिलेसम्म किन नगरेको भन्ने जिज्ञासामा उनले एयरलाईन्स नै यसको जिम्मेवार हो, भने । 

हामीले नेपाल एयरलायन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सोध्यौँ । उनले एयरलाईन्स कम्पनीले नाम परिवर्तन गर्न पाउँदैन भने । उनले त्यसका लागि नागरिक उडड्यन प्राधिकरणले नै पहल गर्नुपर्ने बताए। नेपालमा नेपाल एयरलाईन्स बनाइसकेको अवस्थामा त्यहाँ शाही नेपाली एयरलायन्स नै छ, यो कुरा भने उनले स्वीकारे । उनले भने, ‘त्यसलाई कसरी परिवर्तन गर्ने त्यो हामीलाई थाहा हुँदैन र त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले नै पहल गर्नुपर्दछ ।’ यत्ति कुरा गर्दा थाहा भईहाल्यो। दुवै निकाय दोषारोपणमै व्यस्त छन् । 

कसले निवेदन दिने भन्नेमै दुवै निकाय स्पष्ट रहेनछन् वा उनीहरुलाई काम गर्ने मनै छैन। यो त जसरी चल्छ, चल्छ, आपत परेका दिन मन्त्री वा सरकारलाई दोष दिए भईहाल्यो नि भन्ने मनसाय देखियो। दुवै जिम्मेवार निकायले यसरी बस्नु राम्रो हुनै सक्दैन। व्यवसाय गर्ने, विमान उडाउने ? अनि त्यसलाई विश्वसनीय र व्यवस्थित नबनाउने कुराले सरकारलाई सम्वृद्धिको लक्ष्यमा पुर्‍याउला र ? यो विषयमा अब मन्त्रीले नै सोच्नु पर्ने बेला भयो । हामीले मन्त्री अधिकारीसँग कुरा गर्न पटक–पटक प्रयास गर्‍यौँ। उनका सहयोगीले विहानको समयमा कुरा गर्न सकिन्छ, दिउँसो र बेलुका अलिक कठिन हुन्छ, भने। आशा गरौँ चाँडै मन्त्रीका कुरा पनि सुन्न पाईने छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ