- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगल्याण्ड विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले ८ विकेटको सहज जित हासिल गरेको छ । इंगल्याण्डको नटिंघममा भएको खेलमा २६९ रनको लक्ष्यलाई भारतले ४०.१ ओभरमै २ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
भारतलाई शानदार जित दिलाउन ओपनिङ ब्याट्सम्यान रोहित शर्माले नटआउट १३७ रन बनाए । करियरको १८ औं सतक बनाएका रोहितले ११४ बल खेलेका थिए । त्यसैगरी कप्तान विराट कोहलीले ७५ रन बनाए भने शिखर धवनले ४० रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको इंगल्याण्डले एक बल खेल्न छँदै अलआउट हुँदै २६८ रन बनायो । जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए । कुलदीप यादवले सम्झनयोग्य बलिङ पेश गर्दै १० ओभरमा २५ रन दिएर ६ विकेट लिए ।
कुलदीप इंगल्याण्डको भूमिमा ६ विकेट लिने पहिलो स्पिनर बनेका छन् । यसअघि सन् २००४ मा पाकिस्तानी बलर शाहिद आफ्रिदीले केन्याविरुद्ध ११ रन खर्चेर ५ तथा अष्ट्रेलियाका एन्ड्रयु साइमण्डले २००५ मा बंगलादेश विरुद्ध १८ रन खर्चेर ५ विकेट लिएका थिए ।
२३ वर्षीय कुलदीपको यो भारतीय खेलाडीहरुकै इतिहासमा एक दिवसीयमा चौथो उत्कृष्ट प्रदर्शन हो ।
यो जितपछि भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । यसअघिको टी–२० क्रिकेट श्रृंखला भारतले २–१ ले जितेको थियो ।