एजेन्सी। एप्पलले चीनमा स्वच्छ ऊर्जाका लागि ३० करोड अमेरिकी डलरबराबरको कोष स्थापना गर्ने भएको छ। शुक्रबार कम्पनीले चीनका १० लाख घरहरुलाई पुग्ने ऊर्जा उत्पादनको लागि यो कोष खडा गर्ने निर्णय गरेको हो।
अहिले चीनको प्रमुख प्राथमिकतामा प्रदूषण नियन्त्रणको काम रहेको कारण पनि चीनको बजारमा आफ्नो हिस्सा बढाउनका लागि एप्पलले यस्तो योजना ल्याएको हो। अहिले चीनको प्रमुख सहरहरुमा अत्यधिक प्रदूषणको कारण बाक्लो तुवाँलो लाग्ने गरेको छ।
आईफोन निर्माता कम्पनीले ल्याएको लगानी विभिन्न १० सप्लायर्सहरुको माध्यमबाट चीन आउनेछ। एप्पलले आगामी चार वर्षका लागि सो योजना ल्याएको हो। पछिल्लो समय अमेरिका र चीनको बीचमा व्यापारिक तनाव देखिएको अवस्थामा अमेरिकी कम्पनीले चीनमा लगानीको योजना ल्याएको हो।
यस वर्षको सुरुवातमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले अमेरिका र चीनको बीचमा बढिरहेको तनाव कम गर्नका लागि आग्रह गरेका थिए। अमेरिकी कम्पनीले आफ्नो धेरैजसो सामाग्रीहरु चीनमा निर्माण गर्ने गरेको छ। चीनबाट उसले आफ्ना सामाग्रीहरु विश्व बजारमा पठाउने गरेको छ। जबकी अमेरिकामा प्रयोग हुने एप्पलका उत्पादनहरु पनि चीनमा नै बन्ने गरेका छन्।
चीनको बजार एप्पलका लागि निकै महत्वपूर्ण बजार हो। यद्यपि पछिल्लो समय चिनियाँ स्मार्टफोनहरुको बजारमा देखिएको व्यापक विस्तारको नतिजाले भने एप्पल समस्यामा पर्दै आएको छ।
एप्पल आफ्नो नवीकरणीय क्षेत्रको हिस्सा पनि बढाउने क्रममा देखिएको छ। यस वर्षको सुरुवातमा उसले आफ्नो विश्वव्यापी सबै सेवाहरु पूर्णरुपमा नवीकरणीय ऊर्जामा आधारित रहेको घोषणा गरेको थियो।