arrow

डरलाग्दो वैदेशिक व्यापार : १ रुपैयाँको निर्यात गर्दा १५ को आयात

logo
प्रकाशित २०७५ असार ३० शनिबार
aayat-niryat1.png

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अनुसार नेपाको वैदेशिक व्यापार घाटा निरन्तर चुलिंदै गएको हो । केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७४ - ०७५को एघार महिनाको अवधिमा मुलुकको व्यापार घाटा १० खर्ब ३३ अर्ब पुगिसकेको छ ।

 केन्द्रका अनुसार नेपालको वैदेशिक व्यापारमा १ रुपैयाँको सामान निर्यात गर्दा करिब १५ रुपैयाँ बराबरको आयात गर्नु परेको छ । केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १ रुपैयाँको वस्तु निर्यात गर्दा १४ रुपैयाँ ९० पैसाको वस्तु आयात गर्नु परेको छ । यो विगत तीन वर्ष देखि निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२-०७३को एघार महिनाको अवधिमा नेपालबाट १ रुपैयाँको वस्तु निर्यात गर्दा ११ रुपैयाँ बराबरको आयात रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३-०७४को सोही अवधिमा १ रुपैयाँको वस्तु निर्यात गर्दा १३ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात  रहेको थियो । चालु आर्थिक वर्षको यो अवधिमा नेपालबाट निर्यात हुने वस्तुको कुल निर्यात ७४ अर्ब १९ करोड ३० लाख रुपैयाँ बढीको रहेको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ७ प्रतिशतले भएको वृद्धि हो ।

निर्यातमा सामान्य सुधार देखिए पनि आयात उच्च रहेका कारण व्यापार घाटा चुलिँदै गएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अधिकारीहरुको भनाई छ । चलु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल वस्तु आयात, ११ खर्ब ६ अर्ब २३ करोड १४ लाख रुपैयाँ बढीको रहेको छ । यो आयात गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ८ प्रतिशतले वद्धि हो ।

नेपालमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामका छड, विभिन्न विद्युतीय उपरणहरु, सवारी साधन तथा उपकरण लगायतका वस्तु मुख्य रुपमा आयात हुँदै आएका छन् ।त्यस्तै नेपालबाट मुख्य रुपमा पोलिष्टर, कार्पेट, तयारी पोशाक लगायतका बस्तुका निर्यात हुने गरेको छ ।

नेपालको वैदेशिक व्यापार भारत, चीन, क्यानडा, अमेरिका लगायका मुलुकसँग मुख्य रुपमा हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ