डिजाइनमै त्रुटि हुँदा 'ग्रीन बेल्ट' मासिएको निष्कर्ष
प्रकाशित २०७५ असार ३२ सोमबार
319
Shares
काठमाडौं । चक्रपथ अन्तर्गतको कोटेश्वर–कलंकी सडकखण्डमा वृक्षरोपण गर्न नमिल्ने भएको छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागको एक टोलीले गरेको अनुगमनका क्रममा कोटेश्वर–कलंकी सडकको बीच भागमा रहेका दुई डिभाइडरमा वृक्षरोपण गर्न नमिल्ने निस्कर्ष निकालेको हो ।
चिनियाँ सहयोगमा निर्माणधीन सो सडकखण्डको असार २० गते गरेको अनुगमनका क्रममा वृक्षरोपण गर्नुपर्ने डिभाइडरमा ब्लकहरू राखेर चिटिक्क पारिएकाले वृक्षरोपण गर्न नमिलेको विभागका उपमहानिर्देशक डा.यज्ञनाथ दाहालले जानकारी दिए ।
स्वच्छ वातावरण महाभियान, २०७५’ अन्तर्गत साउन १८ गतेभित्रै कोटेश्वर कलंकी सडकखण्डमा वृक्षरोपण गर्ने भनिएको थियो। उपमहानिर्देशक दाहालले कोटेश्वर–कलंकी सडकको डिभाइडरमा ब्लक राख्ने काम भैसकेको र कतै भैरहेकोले वृक्षरोपण गर्न नमिल्ने निस्कर्ष विभागले निकालेको हो ।
चक्रपथमा वृक्षरोपण गर्न हाल बनाइएका ब्लक भत्काउनु पर्ने भएपनि त्यसका लागि विभागसँग बजेट नरहेको उनले स्पष्ट पारे । चक्रपथ निर्माण हुँदा समन्वय नभएकाले गर्दा ग्रीन बेल्ट मासिएको विभागको अनुगमनले निकोलेको निष्कर्षमा उल्लेख छ । विभागले यो सडकमा रहेका दुई डिभाइडरमा ठूला गमलामा बाह्रै महिना हरियाली हुने विरुवा, फूल तथा जमिनमा चाइँनिज दुबो रोप्ने योजना बनाएको थियो।
मुख्य सडक र सर्भिस लेनको बीचमा रहेका दुई डिभाइडरमा राखिएको ब्लक हटाए मात्र वृक्षरोपणको अगाडि बढाउन सकिने उनले बताए ।
सन् २०१३ मा सुरु भएको काठमाडौं उपत्यकाको चक्रपथ सुधार परियोजनाको बल्खु–कोटेश्वरखण्ड मात्र सम्पन्न भएको छ। बल्खुदेखि कलंकी जोड्ने अन्डरपासको निर्माण अन्तिम चरणमा रहेको छ । करीब साढे २७ किलोमिटरको कोटेश्वर–कलंकी सडकको डिजाइनमै त्रुटि हुँदा यो यो समस्या निम्तिएको छ ।
पहिलाको चक्रपथमा दायाँबायाँ २० मिटरको ग्रीन बेल्ट थियो । चक्रपथ विस्तार गर्ने क्रममा १२ सयभन्दा बढी रूख काटिएका थिए।
निर्माणधीन चक्रपथमा बिरुवा रोपेर हरियाली बनाउने ठाउँ नै नभएको वातावरणविदले गुनासो पोखेका छन् । रूखविरुवा नरोप्दा शहरको सौन्दर्यमा कमी आउनुका साथै वायु प्रदूषण पनि बढेको बाताबरणबिदहरुको ठम्याइ छ ।
बाटोको किनारामा हुने रूखले २५ प्रतिशतसम्म वायु प्रदूषण कम गर्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।