arrow

महिना दिनमै १ लाख २५ हजार राजस्व उठायो रामपुर प्रहरीले

logo
सीता डोटेल,
प्रकाशित २०७५ साउन २ बुधबार

पाल्पा ।  ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले एक महिनामा १ लाख २५ हजार रुपँया राजस्व संङ्कलन गर्न सफल भएको छ । आर्थिक बर्षको पछिल्लो महिना असार १ गते देखि ३२ गते सम्म सञ्चालन गरेको बिशेष सवारी चेक जांच तथा अन्य सुधारमुखी कार्बाही अभियानबाट अघिल्लो ६ महिनाको तुलनामा भन्दा असार महिनामा ९ हजारले बढी राजस्व संङ्कलन गर्न आफुहरु सफल भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

 प्रहरीले चलाएको अभियानले राजस्वमा बृद्धि हुनुका साथै लापरबाही गरि सवारी साधन चलाउने प्रबृतिमा समेत कमी आएको छ । असार महिनामा मात्र गरिएको चेकजाचको क्रममा सवारी साधनका बिलबुक तथा सवारी चालक अनुमति पत्र नभएको र मादक पदार्थ सेवन गरि चलाएको कसुरमा १ सय ४५ वटा सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी कारबाही वापत १ लाख २५ हजार राजश्व सङ्कलन भएको हो । जुन अघिल्लो ६ महिनाको भन्दा ९ हजारले बढि छ ।

अघिल्लो ६ महिनामा सवारी चेकजांचबाट १ लाख १६ हजार राजस्व संकलन भएको थियो । रामपुर नगरपालिका सहित आसपासका क्षेत्रमा चेकजांच गर्दा लामो समयसम्म पनि बिलबुकको नबिकरण नगरि चलाइरहेको जीप, बस, ट्याक्टर, कार र मोटरसाइकल गरि ९५ वटा सवारी साधनहरुलाई असार महिनामा मात्र नियन्त्रणमा लिई यातायात ब्यबस्था कार्यालय बर्तुङ पाल्पामा राजस्व बुझाउन लगाईएको छ । जसबाट एक महिनाको अबधिमा राज्य कोषमा ९ लाख ५० हजार राजश्व जम्मा गर्न भएको छ ।

जेठ अन्तिम साता इलाका प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी निरिक्षक भोजराज पाण्डेले लापरबाहीपुर्वक सवारी साधन चलाउने प्रबृतिमा रोक्ने सहित समुदायमा प्रहरी कार्यक्रम सञ्चालन गरि जनचेतना जगाउने काममा बढी प्राथमिकता दिएका छन् । चेकजाचकै क्रममा २ वटा बजाज को २२० सिसि पल्सर मोटरसाइकल शंकास्पद भेटिएको छ । उक्त मोटरसाइकलको बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । केही दिन अघि भेटिएको मोटरसाइकल अहिले प्रहरी कार्यालय परिषरमा छ । प्रहरीले चलाएको चेकजांचको अभियानककै कारण नबिकरण बिना संचालनमा रहेका सवारी साधनको नविकरण गर्न जाने सवारी धनीहरुको घुइचो यातायात ब्यबस्था कार्यालय बर्तुङमा बढेको छ ।

समाजमा शान्ति सुरक्षा स्थापनार्थ अभियान चलाएको प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत घरेलु मदिरा बिक्रि बितरण गर्ने कार्यलाई निरुत्साहित पार्न रामपुरको बेझाँड बजार र किसानबारी बजारबाट १२ सय लिटर अबैध मदिरा नियन्त्रणमा लिई जनप्रतिनिधि पत्रकारहरुको रोहबरमा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिकाका ७ स्थान सहित कार्यालयको सेवा क्षेत्र भित्र निस्दी गाउँपालिका र रम्भा गाउँपालिकाको हुँगीमा नागरिकसँग अन्तरक्रिया र बिभिन्न अपराध न्युनिकरण तथा अपनाउनु पर्ने साबधानी, कानुनी व्यवस्था साथै मुलुकी अपराध (संहिता) ऐन २०७४ का बारेमा प्रशिक्षण सञ्चालन गरि सुझाव सङ्कलन गरेको छ ।

अपराध जसले आफु आफ्नो परिवार र समाजमा निम्त्याउने असर, कानुनी कारबाहीका प्रक्रिया र कानुनी व्यबस्थाका बारेमा सचेतना जगाएर नै समाजमा हुनसक्ने संभावित घटना न्युनिकरणमा गर्न महत्वपुर्ण भएकोले बर्खे बिदा सकिएलगत्तै बिद्यालयहरुमा कक्षा ८ देखि १२ सम्मका बिधार्थीलाई साइवर अपराध, लागु औषध दुव्र्यसन र ट्राफिक नियमको बारेमा प्रशिक्षण दिने योजना बिद्यालयसँगको समन्वयमा बनाएको प्रहरी निरीक्षक पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ