- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले प्राडा गोविन्द केसीका मागहरु पूरा गर्न र केसीको जीवनरक्षा गर्न दबाब दिन नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।
संघको आव्हानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भएका छन् ।
संघले एक दिने सेवा ठप्प पारेको हो । तर सरकारले यसरी ठप्प पार्दा समेत वास्ता नगर्ने हो भने अनिश्चितकालीन बन्द गर्न तयार हुने चेतावनी सरकारलाई दिएको छ ।
सरकार के भन्छ ?
कानुन मन्त्री शेरबहादुर तामाङले बिरामीलाई अस्पतालमा छाडेर कुनै पनि चिकित्सक आन्दोलनमा नजाने दावी गरेका छन् । उनले विरामी छाडेर कोही पनि डाक्टर बाहिर ननिस्कने भन्दै चिकित्सकलाई सचेत पारेका छन् ।
उनले चिकित्सकहरु आन्दोलित भइरहेका बेलामा जानकारी नभएको जस्तो गरी ‘केही चिकित्सकहरु आन्दोलनमा जानुहुन्छ तर धेरै डाक्टरहरु विरामीको उपचार गर्नुहुन्छ’ भने ।
यसअघि नै सरकारका विभिन्न मन्त्रीहरुले विरामीको उपचार गर्न छाडेर आन्दोलनमा होमिने चिकित्सकलाई जागिरबाट हटाउने समेत भनिसकेका छन् ।
जागिरको माया छैन –डा ढुंडिराज पौडेल
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुंडिराज पौडेलले जागिरको माया नभएको भन्दै सरकारलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् ।
विभिन्न मन्त्रीहरुले आन्दोलनमा होमिने डाक्टरलाई सेवाबाट हटाउने चेतावनी दिँदै डा गोविन्द केसीको आमरण अनसनलाई शिथिल बनाउने प्रयास थालेपछि डा पौडेलले सरकारको हिम्मत भए कार्वाही गरेर देखाउन चुनौती दिएका हुन् ।
‘चिकित्सकहरुले नाजायज माग नराखेको र डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दा समेत सरकारले कार्वाही गर्न खोज्छ भने जागिर खोसेर देखाओस्’, डा पौडलले भने ।