arrow

सरकारी योजना असफल : अझै पुगेनन् स्थानीय तहमा बैंक

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ३ बिहिबार
bank.gif

पाल्पा । संघीय संरचनाअनुसार गठन भएका स्थानीय तहहरुमा चालु आर्थिक वर्षको असार मसान्तभित्रै वाणिज्य बैंकका शाखाहरु पुर्‍याउने राष्ट्र बैंकको योजना थियो । तर, चालु आर्थिक वर्षभित्रै बैंकिङ सेवा पुर्‍याउने राष्ट्र बैंकको योजना असफल भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो ।

पाल्पामा १० स्थानीय तह रहेकोमा चालु आर्थिक वर्ष सकिदा समेत वाणिज्य बैंकहरुले अझै केही स्थानीय तहमा शाखा खोल्न सकेका छैनन् । वाणिज्य बैंकहरुले सबै स्थानीय तहमा असार मसान्तभित्रै शाखा खोल्न नसक्ने भएपछि राष्ट्र बैंकको योजना विफल भएको हो । चालु आर्थिक वर्ष सकि सकेकाले यस वर्ष योजना अनुसार सबै स्थानीय तहमा शाखा खोल्न असम्भव रहेको राष्ट्र बैंकले जानकारी दिइसकेको छ । पाल्पामा मात्र होइन देशभर रहेका ७ सय ५३ स्थानीय तहहरु मध्ये हालसम्म ५ सय ५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकले असारमसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको भए पनि विभिन्न समस्याका कारण अझै २ सय ३ वटा स्थानीय तहमा  बैंक पुग्न सकेका छैन ।  स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या भएको छ । सरकारी सेवा सुविधा स्थानीय तहमै सञ्चालन भइरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नुपरेको हो ।  सरकारले  सिंह दरबारको अधिकार गाउँ गाउँमा भने पनि एक वर्ष वितिसक्दा समेत  कार्यान्वयन हुन नसक्दा जनताले सास्ती खेप्नु परेको गुनासहरु आउन थालेका छन् ।

स्थानीय तहमा बैंक नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । साना देखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता रहेको छ ।  जिल्लामा दश स्थानीय तह रहे पनि रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ  केन्द्रमा मात्र नीजि क्षेत्रका वाणिज्य बैंकको शाखा खोलिएका छन् । रामपुर र तानसेन नगरपालिकामा भने यस अघि नै वाण्ज्यि बैंकका शाखाहरु रहेका छन् । बगनासकालि गाउँपालिकाको आर्यभञ्याङ्गमा यस अघि नै वाणिज्य बैंकको शाखा रहे पनि केन्द्रमा नहुँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

गाउँपालिका केन्द्रलाई कारोबारका लागि आर्यभञ्याङ्ग जानु भन्दा सदरमुकाममै सजिलो भएकाले सबै काम सदरमुकामबाटै गरिएको अध्यक्ष बस्यालले जानकारी दिए । गाउँपालिकाका वडा २, ३, ४ का जनतालाई आर्यभञ्याङ्गमै सहज हुने र अन्य वडाका जनताहरुलाई समस्या भएको छ । त्यस्तै गरी पूर्वखोला र निस्दी गाउँपालिकामा बैंकका शाखाहरु गए पनि फोन ,ईन्टरनेट जस्ता प्राप्त पूर्वधारका समस्याका कारण कारोबार गर्न सकिरहेका छैन । कारोबार नहुँदा सदरमुकामै जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्षहरु बताउँछन् ।

 रम्भा गाउँपालिकाको ताहुँमा यस अघि नै विकास बैंक शाखाहरु रहे पनि केन्द्रमा बैंकहरु नपुग्दा कारोबारकालाई सदरमुकाममै जानुपरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले भने ‘कारोबारका लागि ताहुँ जानु भन्दा सदरमुकाम जान सहज भएकाले अहिले सम्म सदमुकामबाटै काम भएको छ ।’ त्यस्तै गरी माथागढी गाउँपालिकामा केही दिन अघि मात्र मेगा बैंकको एक्सटेन्सन काउन्टर खुलेको छ । तर तयारी  पुरा नभएकाले कारोबार हुन सकेको छैन । अहिले सम्म बैंक गाउँपालिकामा नआउँदा सदरमुकामबाटै कारोबार सञ्चालनमा गर्नु परेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।    

 अहिलेसम्म गाउँपालिका केन्द्रहरुमा बैकिङ्ग सुविधा  नपुगेको र पुगेका स्थानहरुमा पनि प्राप्त पूर्वधार नहुँदा  कारोबारमा समस्या आएको सम्बन्धित गाउँपालिकाका अध्यक्षहरु बताउँछन् । सर्वसाधारण देखि स साना योजनाका उपभोक्ता समितिका पधाधिकारीहरु बैकिङ्ग कारोबारका लागि सदरमुकाम तानसेन नै आउनुपर्ने बाध्यता रहेको छ । ‘योजना सम्झौता गर्दा गाँउपालिकामा जानुपर्ने र सम्झौता पश्चात बैंक खाता खोल्न फेरी जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको माथागढी गाउँपालिकाका शिशिर भट्टराईले बताए ।’ उनले भने‘ सिंहदरबार गाउँ गाउँमा भन्थे तर अहिले गाउँपालिका र सदरमुकाम दुवै ठाउँमा जानुपर्ने भएकाले समय पनि खेर जाने र खर्च पनि दोहोरो हुने भएकाले झण्झटीलो भइरहेको छ ।’  सेवा ग्राही मात्र हैन सरकारी कर्मचारीसमेत बैंक नहुँदा ठूलै समस्यामा पर्ने गरेका छन् । बैंक नहुँदा  वडा सचिवहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको लाखौं रकम सदरमुकामबाट बोकेर लैजानुपर्ने बाध्यता छ ।

 भौगोलिक विकटताका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ । बैंकको  निर्देशनअनुसार शाखा खोल्न बैंकहरु हौसिएका थिए, तर कतिपय स्थानीय तहमा बैंक शाखा खोल्न आवश्यक पर्ने न्युनतम् पूर्वाधारसमेत नभएका कारण सम्भव नभएको बैंक सञ्चालकहरु बताउँछन् । शाखा खोल्नका लागि अध्ययनका क्रममा कतिपय स्थानीय तहमा प्रहरी चौकी, सडक सञ्जालको अभाव,इन्टरनेटको समस्या त कतिपय स्थानीय तहमा शाखा खोल्नका लागि उपयुक्त घरसमेत भेट्न नसकेका कारण राष्ट्र बैंकको योजना पूरा हुन नसकेको बैंक सञ्चालकहरुको भनाई छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ