arrow

भारतको टमाटर राजनीतिः नेपाली किसानलाई धोका

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
tomato.jpg

पाँचथर । करीब एक महिना अघिदेखि टमाटरको निर्यात ठप्प भएपछि पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकाका किसान सयौं किसान निरास बनेका छन् । व्यापारीले नउठाइदिएपछि पाकेको टमाटर बारीमै कुहिएर गइरहेको छ । व्यापारीले उठाइदिने आसमा किसानले सडक किनारामा निकालेको टमाटरले सडकलाई दुर्गन्धित बनाइरहेको छ ।

यहाँ उत्पादित टमाटर पूर्वी नाका काँडकभिट्टा हुँदै भारत निर्यात हुने गरेको थियो । तर भारत निकासी हुने कृषि उपजको सूचिमा नपरेको भन्दै भारतले निर्यात रोकेपछि कृषकको लगानि र परिश्रम बालुवामा पानी जस्तै अवस्थामा पुगेको हो । टमाटर निकासीमा रोक लागे सँगै समस्या समाधानका लागि पहल गर्न माग गर्दै किसानहरुको ममूह प्रदेश–१ को सरकार समक्ष पुगे पनि समस्या सुल्झिएको छैन । 

अहिले किसान निरास र आक्रोशित समेत बनेका छन् । उनीहरुले बिहीबार हिलिहाङ गाउँपालिका–१, भालुभोकमा पोकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक बिरोध समेत जनाएका छन् । तत्काल टमाटर निकासी नभए मेची राजमार्गमा यातायात नै ठप्प पार्ने सम्मको आन्दोलन गर्ने किसान चुडामणी बराइलीले आक्रोशित हुँदै बताए ।

जिल्ला कृषि बिकास कार्यालयले याङवरक र हिलिहाङ गाउँपालिकालाई टमाटरको पकेट क्षेत्र घोषणा गरी टमाटर खेतिका लागि किसानलाई प्रोत्साहन समेत दिंदै आएको थियो । कार्यालयको रेकर्डमा पाँचथरबाट वार्षिक करीब साँढे तीन करोडको टमाटर निर्यात हुने गरेको छ । त्यसमध्ये अधिकांश टमाटर याङवरक र हिलिहाङमा उत्पादन हुने कार्यालयले जनाएको छ । तर झण्डै एक महिना देखि टमाटर निर्यात हुन नसक्दा किसान चरम निरासामा छन् । 

किसानहरुले चुनाबको बेला अनेकौं प्रलोभन देखाउदै भोट मागे पनि अहिले किसानको समस्यामा जनप्रतिनिहरु गम्भिर नभएको आरोप समेत लगाएका छन् । हिलिहाङ गाउँपालिका–१, का बहादुर अधिकारीले लगानि र परिश्रम डुबेको तर आफ्नो कुरा सुनिदिने कोही नभएको बताए । बारीमा कुहिएर सकिंदै गएको आफ्नो कमाइलाई टुलुटुलु हरेर बस्न बाहेक कुनै बिकल्प नभएको सोही ठाउँका किसान आइतरानी योङहाङले बताए ।

 यता याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले भने किसानको समस्यालाई आफूले नजिकबाट महसुस गरिरहेको र समाधानको लागि पहल पनि गरिरहेको बताए । किसानको गुनासो आएपछि निकासीका लागि सम्बन्धित ठाउँमा आफूले पत्र लेखेको तर हालसम्म त्यसको जवाफ नआएको अध्यक्ष घिमिरेले बताए । तत्काल हिलिहाङ गाउँपालिकाका अध्यक्ष सँग समेत परामर्श गरेर किसानको समस्या समाधान गर्न ठोस पहलको काम थाल्ने उनले बताए । 

सो क्षेत्रका सबै किसानले मकै र धान फल्ने खेत र बारीमा समेत टमाटर लगाएका छन् । त्यसैले तत्काल टमाटर निर्यात हुन नसके खाद्य संकट निम्तिने खतरा रहेको कृषक प्रकाश उप्रेतीले बताए । चाँडै र धेरै आर्थिक लाभ लिन सकिने भएपछि खाद्यान्न बालीको ठाउँमा पनि किसानले टमाटर खेति लगाएका हुन् । तर टमाटर प्रतिकिलो एक रुपैंयाँमा पनि नबिकेपछि यसले खाद्य संकट निम्त्याउँने खतरा बढेको स्थानीयले बताएका छन् ।
 

फलाएको टमाटर नबिकेपछि यसले किसानलाई ऋणको बोझ समेत हुने भएको छ । विभिन्न वित्तिय संस्थाहरुबाट ऋण लिएर कृषकले मकै र धानको ठाउँमा नगदेबाली टमाटर खेति लगाएका छन् । टमाटर बिक्रीबाट हुने आम्दानिले ऋण तिर्ने सोचमा रहेका किसानलाई ऋण तिर्ने अर्को माध्यम पनि नभएको किसान प्रकाश उप्रेतीले बताए ।

सम्बन्धित निकायले पहलकदमी गरेर तत्काल टमाटर निर्यातको बाटो नखोले यसबाट धेरै समस्या उत्पन्न हुने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ