नेपाली चिनी गोदाममै, सरकार ! स्वदेशी उद्योग बन्द गर्न खोजेको हो ?
भन्सार बढाउँदा पनि घटेन आयात
प्रकाशित २०७५ साउन ७ सोमबार
704
Shares
काठमाडौं । सरकारले आयातित चिनी रोक्न नसक्दा नेपाली उद्योगीहरुको चिनी गोदाममै थन्किएको छ । विदेशबाट आयात गर्ने चिनी सस्तो भएका कारण नेपाली चिनी खरिद गर्न छाडेपछि स्वदेशी चिनी गोदाममै थन्किएको हो ।
चिनी उत्पादक संघले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो गरेको छ । संघका अनुसार अहिले १ लाख २४ हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । यो वर्ष उतपादन भएको चिनी मध्ये ५४ हजार मेट्रिक टन मात्रै विक्री भएको संघले जानकारी दिएको छ ।
संघले मंसिरदेखि चिनीको क्रसिङ सुरु हुने र मौज्दात रहेको चिनीले आगामी मंसिरमा उखु क्रसिङ गर्न अप्ठ्यारो हुने चिन्ता व्यक्त गरेको छ । चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनी रोक्नका लागि सरकारले पहल नगर्दा स्वदेशी उद्योग धरासयी आवस्थामा पुगेको बताए ।
पाकिस्तान, भारत लगायतका मुलुकमा चिनीको मूल्य घटेपछि नेपालमा आयात हुने चिनी नेपाली उत्पादनको तुलनामा सस्तो हुने गरेको छ । जसका कारण उपभोक्ताले आयातित चिनी उपभोग गर्ने गर्छन् । यसरी आयाति चिनी नेपालको उत्पादन भन्दा सस्तो भएपछि सरकारले कुनै न कुनै कानुन लगाएर रोक्नु पर्ने माग आफुहरुको रहेको अध्यक्ष अग्रवालले बताए । ‘सरकारले समयमै पहल नगरेका कारण हाम्रा उद्योग धरासयी हुने देखिएका छन्’ उनले भने, ‘साथै किसानहरुलाई समेत मार्का परेको छ ।’
उनले चिनी बिक्री नभएर राख्ने ठाउँ नभएको भन्दै त्यसको बाई–प्रोडक्टको रुपमा उत्पादन हुने मोलासिस र बोगास व्यवस्थापन गर्न समेत अप्ठ्यारो भएको बताए । भारतमा निर्यात हुने मोलासिस पछिल्लो समय भारतको भन्दा महंगो भएको भन्दै भारततर्फ निर्यात हुने मोलासि समेत ठप्प परेको उनको भनाई छ । उनका अनुसार मालोसिसर बोगासको प्रयोग जाँड बनाउनमा प्रयोग गरिन्छ ।
यसअघि सरकारले विदेशबाट आयात हुने चिनी रोक्नका लागि चिनीको मूल्यमा भन्सारवृद्धि गरेको थियो । तर, आयातित चिनीमा भन्सार बढाउँदा समेत स्वदेशी चिनी उद्योगको जोखिममा कुनै परिवर्तन नआएको संघको दावी छ । संघका अनुसार नेपालमा चिनीको वार्षिक खपत २ लाख ३० हजार मेट्रिक टन हुने गरेको छ । उत्पादन भने करिब १ लाख ७० हजार मेट्रिक टन हुने गरेको संघले जानकारी दिएको छ ।