arrow

हुम्लाको यारी भन्सारमा प्रजिअ माधव प्रसाद ढुङ्गानाको अवैध उठौती

निकासीको सामानमा भ्याट भन्दै खल्ती भर्ने धन्दामा प्रजिअ ढुङगाना

logo
जनक बहादुर शाही,
प्रकाशित २०७५ साउन ११ शुक्रबार
humla.jpeg

हुम्ला। नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तथ्य बाहिर आएको छ।

नाम्खा ६ लिमीका ब्यापारी तेन्जन लामाले यारी नाका भन्सार कार्यालय हुँदै तिब्बतको ताउलाकोट निकासी गर्न लागेका ३ लाख बढी मुल्यका चाँदीले मोडेको काठका भाँडा तथा अन्य सामानको भ्याट वापत भन्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको निर्देशनमा यारी नाका भन्सार कार्यालयले २७ हजार ५ सय ६० रुपैया असुलेपछि यो तथ्य बाहिर आएको हो। १ दशक देखि तिब्बतको ताउलाकोटमा ब्यापार गर्दै आएका नाम्खा गाउँपालिका १ हेप्काका सुनाम लामाले सो जानकारी गराएपछि भन्सारमा हुने अवैध लेनदेन बाहिर आएको हो।  

यारी भन्सार कार्यालयका प्रमुखले भने यसबारेमा अनविज्ञता जनाए। भन्सारको नियम अनुसार सामान देश बाहिर निकासी गर्दा चाहे १ केजी होस या १ ट्रक नै होस सामान निकासी गरे बापत निकासी शुल्क १ सय १३ रुपैया बाहेक अरु केही पनि लाग्दैन। आफु कार्यालयको काममा काठमाडौ आएकाले केका लागि रकम उठाएको हो सो कुरा आफुलाई जानकारी नभएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामचन्द्र भट्टले बताए।

हिल्सामा रहेको भन्सार कार्यालयले करका नाममा स्थानीय व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको छ। यदि कानुन बमोजिम ब्यापारीले भ्याट नतिरेर सामान ल्याएको छ भने सबै सामान सिज हुनुपर्ने हो कि भन्सारले रसिद काट्नु पर्ने हो। तर सो सामान सिज गर्नुको सट्टा कानुन विपरित प्रमुख जिल्ला अधिकारीको निर्देशनमा ब्यापारीलाई धम्क्यार सेतो कागजमा रकम उठाउन लगाएको स्थानिय व्यवसायीको आरोप छ।

भन्सारमा उठाइएको अनधिकृत रकम सरकारी खातामा नगएर सिधै ब्यक्तीको खल्तीमा जाने ताउलाकोट ब्यापार संघका सदस्य छिरीङटसी लामाले बताए। अख्तियारको समेत अधिकार प्राप्त व्यक्ती प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखकै उपस्थितीमा बुधवार हुम्लाबाट चीनको तिब्बतमा निर्यात हुने सामानमा भन्सार नलाग्ने व्यवस्थालाई समेत वेवास्ता गर्दै भन्सार कार्यालय यारीले सेतो कागजमा रकम भुक्तानी गरेको छाप लगाएर कानुन बिपरीत काम गरेको छ।

सामानसँगै भन्सार कार्यालयमै पुग्नु भएका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले स्थानीय ब्यापारीले राज्यलाई कर नतिरी सामान ल्याएकाले आफुले भन्सारका कर्मचारीलाई हिसाब गरेर भ्याट बराबरको रकम लिएको स्विकार गरे । 

भन्सारमा राजस्व संकलन गर्ने रसिद हुँदाहुँदै व्यापारीबाट रकम उठाएर सेतो कागजमा रकम बुझेको प्रमाण दिनु सरासर गलत नियत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख राजन रेग्मीले बताए। यसरी उठाएको रकम कुनै पनि हालतमा सरकारी खातामा जम्मा नगरी सिधै व्यक्तीको खल्तीमा जाने निश्चित रहेको भन्छन प्रमूख रेग्मी ।

तर निकासी हुने सामानमा भ्याट लिन नपाउने भन्सार विभागले जनाएको छ। कर उठाउने जिम्मा कर कार्यालयको भएको भन्सार विभागका महानिर्देशक तोयम रायले बताए। जो कार्य यारी नाका भन्सार कार्यालयले गर्यो त्यो कानुन बिपरति भएकाले कानुनी कारबाही गर्ने चेतावनी समेत महानिर्देशक रायले दिए।

छिमेकी मुलुकसँग प्रत्यक्ष सिमा जोडिएको यारी भन्सारमा भएको यो घटना यसै पटक मात्रै भएको होइन । वर्षको अधिकांश समयमा कर्मचारी नखटीने, खटिएपनि यसरी कानुन विपरित रकम असुलेर खल्तीमा हाल्ने प्रवृतीले चीनको खुला नाकाका रुपमा सरकारले प्रस्ताब गरेको नाकाबाट आयात निर्यात हुने सामानमा सरकारले बर्षेनी लाखौ रकम गुमाउदै आएको छ। यसलाई समयमै सुधार गर्नुका साथै यस्तो प्रक्रियामा संलग्न ब्यक्ती सबैलाई समयमै कानुनी दायरामा ल्याउने हो भने मात्र बर्षेनी यसरी चुहावट हुने रकम सरकारी खातामा जाने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ