नेदरल्याण्ड्सको भटाभट गयो विकेट, नेपाललाई १९० रनको चुनौती
प्रकाशित २०७५ साउन १६ बुधबार
348
Shares
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा १९० रनको चुनौती पाएको छ । टस जितेरे पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई एक सय ९० रनको चुनौती दिएको हो ।
घरेलु टोलीले ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो । नेपाली टोलीका कप्तान पारस खड्का एक्लैले चार विकेट लिएपछि नेदरल्याण्ड्स मध्यम स्कोरमा समेटिएको हो । यस्तै, नेपाली बलर सोमपाल कामीले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले समान एक–एक विकेट लिए । नेदरल्यान्ड्सका लागि माइकल रिपनले सबै भन्दा धेरै ५१ रन जोडे ।
उनले ७६ बल खर्चिएर जम्मा २ चौका मात्रै प्रहार गर्न सके । नेदरल्याण्ड्सको पारीमा जम्मा दुई जनाले मात्रै एक–एक छक्का प्रहार गरे । नेदरल्यान्ड्सले पाँच रन जोड्दा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले ड्यानियल डर ब्राकलाई एक रनमा आउट गरे । नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । बेन कुपर २० रनमा आउट भए ।
८अाैँ ओभरमा बलिङ गर्न आएका पारस खड्काले आफ्नो पहिलो ओभरमै विकेट हात पारे । कुपर एलबिडब्लु धरापमा परे । १३औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले ओपनर स्टेफन माईबर्घलाई ३० रनमा आउट गरे । माइबर्घ बोल्ड भए । पारसले १६औं ओभरको पहिलो बलमा वेस्ली वारेस्सीलाई १२ रनमै आउट गरे ।
नेदरल्यान्ड्सले पाँचौं विकेटका लागि ६८रनको साझेदारी गर्न सक्यो । सोमपालले पाँचौं विकेटका रुपमा बास दे लिडेलाई ३० रनमा आउट गरे । बसन्त रेग्मीले छैटौं विकेटका रुपमा कप्तान पिटर सिलारलाई पाँच रनमै बाहिर निकाले । पारसले सातौं विकेटका रुपमा माइकल रिपन ५१ रनमा आउट गरे ।
उनले आठौं विकेटका रुपमा शेन स्नेटरलाई शून्यमै आउट गरे । करणले नवौं विकेटका रुपमा विकेटकिपर स्कट एडवार्ड्सलाई १८ रनमा आउट गरे । १०औं विकेट सोमपालकै हात लाग्यो । पहिलो विकेट पनि उनलै लिएका थिए । पारसले १० ओभरमा २६, सन्दीपले १० ओभरमा ४२ र सोमपालले ८.४ ओभरमा ३४ रन खर्चिए । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममै रहेको छ ।