arrow

सोमपाल र पारसको उत्कृष्ट प्रदर्शनले नेपालको ऐतिहासिक जित

आइसिसीको सदस्यता पाएको ३० वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
Nepali_Cricket_First_ODI_Selfie.jpg

काठमाडौं। नेपालले नेदरल्याण्डलाई दोस्रो एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा १ रनले पराजित गर्दै श्रृखंला १-१ ले बराबरी गरेको छ। प्रतिस्पर्धात्मक खेलमा नेपालले ५०औं ओभरको अन्तिम बलमा डच खेलाडीलाई रनआउट पार्दै जित हात पारेको हो । 

एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा ऐतिहासिक जित हासिल गर्ने क्रमको अन्तिम ओभरमा नेदरल्याण्डलाई जितकालागि ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले ४ रन मात्र खर्चेर नेपाललाई १ रनको जित दिलाएका हुन्। 

टस जितेर पहिले ब्याटीङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो।

नेपालकालागि सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाएका थिए।

नेपालकालागि अन्तराष्ट्रीय एकदिवसीय क्रिकेटमा उच्च ब्यक्तिगत रनको रेकर्ड सोमपालको नाममा रहने भएको छ। यसअघि पारस र ज्ञानेन्द्र मल्लले ५१-५१ रन बनाएका छन्। 

त्यसैगरि कप्तान पारस खड्काले ६९ बलमा २ छक्का र ६ चौकाको मदतले ५१ रनको योगदान दिएका थिए। सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाएका थिए। 

नेदरल्याण्डले शुरु देखि कसिलो बलिङ गर्दै नेपाललाई दवाबमा राखेको थियो ।

एक समय ८८ रनमा ५ विकेट गुमाईसकेको नेपालले पारस र सोमपालको सुझबुझपूर्ण ब्याटीङले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो।

नेदरल्याण्डका फ्रेड क्लासेनले ३ विकेट लिएका थिए। 

नेपालकालागि सन्दिप लामिछानेले ३ विकेट लिएका थिए भने ललित सिंह भण्डारीले २ विकेट हात पारेका थिए। त्यसैगरि सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको हो। 

दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । 

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो । 

सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो । नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राट्रिय क्रिकेट खेल्न थालेको थियो । शुरुवातमा नेपालले आइसिसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो । 

सन् २००८ मा नेपाल फिजीसँग हार्दा दुई वर्ष डिभिजन–५ मै रह्यो । सन् २०१० मा भने घरेलु भूमिमा आयोजना भएको डिभिजन–५ प्रतियोगितामा अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन नै बन्यो । त्यही वर्ष नेपालले डिभिजन–४ खेल्ने अवसर पाएको थियो । इटालीमा भएको डिभिजन–४ मा नेपाल तेस्रो स्थानमै सीमित बन्यो । 

सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो । नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो । सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो । डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थानसमेत बनाएको थियो । 

एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो । तर चौथो स्थानमा सीमित भयो । यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो । 

दुई वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो । सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । 

लगत्तै जिम्बावेमा भएको विश्वकप छनोटमा समूह चरणबाट बाहिरिए पनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाउने कान्छो टोली बन्न सफ भयो । नेपालसहित वान डे मान्यता पाउने टोलीको संख्या अब २३ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ