arrow

म्युचुअल फण्डको कारोबार पनि घाटामा, चार योजना मात्रै फाइदामा

logo
रमेश लम्साल,
प्रकाशित २०७५ साउन १९ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ। धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन्। अधिकांश म्युचुअल फण्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्थासमेत कमजोर बन्न पुगेको छ।

स्टकको पछिल्लो बिहीबारको विवरणलाई हेर्ने हो भने कूल १३ मध्ये चार वटा म्युचुअल फण्ड मात्रै आधारभूत मूल्यभन्दा माथि रहेको छ। नौ वटा त्यस्ता सामूहिक लगानीका लागि स्टकमा सूचीकृत म्युचुअल फण्ड भने आधारभूत मूल्यभन्दा तल रहेका छन्।

म्युचुअल फण्डको आधारभूत मूल्य प्रतिएकाइ रु १० हुने गरेको छ। शेयर बजारमा यस्ता फण्डलाई मेरुदण्डका रुपमा समेत लिइन्छ। पछिल्लो पटक शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ। त्यसको प्रभावसमेत यसमा परेको छ। लगानीकर्ताले क्रमशः आफ्नो लगानी गुमाइरहेका छन्।

स्टकका अनुसार लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ ४० पैसा रहेको छ। यस योजनामा प्रतिएकाइ ४० पैसा मात्रै फाइदा रहेको छ। यस्तै एनआइबिएल समृद्धि फण्ड एक योजनाको प्रतिएकाइ मूल्य १० रुपैयाँ ५० पैसा रहेको छ। यसमा मात्रै ५० पैसा नाफा रहेको छ।

आधारभूत मूल्यभन्दा माथि रहेको अर्को योजना हो एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एक। यसको बजार मूल्य रु १२ रहेको छ। यसमा प्रतिएकाइ रु दुई फाइदा रहेको छ। यस्तै सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको मूल्य ११ रुपैयाँ ४४ पैसा रहेको छ । यस योजनामा लगानी गर्नेले एक रुपैयाँ ४४ पैसा मात्रै नाफा कमाएका छन्।

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव यस्ता सामूहिक लगानी कोषमा समेत परेको छ। स्टकका अनुसार सिटिजन म्युचुअल फण्डको आधारभूत मूल्यभन्दा बजार मूल्य तल रहेको छ। यस योजनामा लगानी गर्नेले प्रतिएकाइ एक रुपैया छ पैसा घाटा व्योहोरेका छन्।

ग्लोबल आइएमइ समुन्नत स्किमको बजार मूल्य आठ रुपैयाँ ७० पैसा रहेको छ। आधारभूत मूल्यभन्दा तल रहेको यस योजनामा लगानी गर्नेले प्रतिएकाइ एक रुपैयाँ ३० पैसा घाटा खाएका छन्।

लक्ष्मी बैंकको प्रवद्र्धनमा रहेको लक्ष्मी इक्विटी फण्डमा लगानी गर्नेले समेत प्रतिएकाइ एक रुपैयाँ ८४ पैसा घाटा व्योहोरेका छन्। उता नबिल इक्विटी फण्डमा लगानी गर्नेले प्रतिएकाइ रु एक घाटा खानुपरेको छ। नबिल प्रगति फण्डको अवस्था पनि उस्तै रहेको छ। आधारभूत मूल्यभन्दा एक रुपैयाँ ९४ पैसा लगानीकर्तालाई घाटा भएको छ।

एनआइसी एसिया ग्रोथ फण्डमा लगानी गर्नेको हालत पनि उस्तै रहेको छ। आधाारभूत मूल्यभन्दा प्रतिएकाइ ९३ पैसा घाटा भइरहेको छ। एनएमबी हाइब्रिड फण्डको अवस्था पनि उस्तै छ। स्टकका अनुसार सो योजनामा लगानी गर्नेले प्रतिएकाइ ७४ पैसा घाटा खाइरहेका छन्। सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फेण्डमा लगानी गर्नेले प्रतिएकाइ ८० पैसा घाटा खानुपर्दा सिद्धार्थ एक्विटी फण्डमा लगानी गर्नेले प्रतिएकाइ ९० पैसा घाटा सहनु परेको छ।

सामूहिक लगानीका लागि स्थापना भएका यस्ता योजनामा समेत लगातार गिरावट आएपछि लगानीकर्तालाई समेत नकारात्मक प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ। यही साउन १० गते नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार तोकिएको सीमाभन्दा बढी लगानी गरेको भन्दै केही योजनालाई स्पष्टीकरण सोधेको थियो।

त्यस्ता योजनाले बोर्डमा पेश गरेको मासिक खुद सम्पत्ति विवरणअनुसार उक्त योजनाको लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी हुने गरी लगानी गरेको पाइएकाले बोर्डले स्पष्टीकरण सोधेको थियो।  बोर्डका अनुसार स्थलगत निरीक्षणका क्रममा सीमाभन्दा बढी लगानी गरेको पाइएकाले सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड, एनएमबी हाइब्रिड फण्ड एकलगायतलाई स्पष्टीकरण सोधिएको हो।

यसैगरी धितोपत्र बजारमा यस साता रु एक अर्ब सात करोड ६७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर खरीद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो। गत साता १७९ कम्पनीको रु एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयर खरीद बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन एक हजार १९१.३१ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आइपुगेको छ। यस साता कारोबार रकमको आधारमा माछापुच्छे« बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु छ करोड ८७ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ। सो बैंकको तीन लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ