व्यापारयुद्धले छोएन टोयटालाई, औसत आम्दानीमा उल्लेख्य वृद्धि
प्रकाशित २०७५ साउन २० आइतबार
210
Shares
एजेन्सी। जापानी सवारी निर्माता टोयटाले सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा आफ्नो औसत आम्दानीमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक गरेको छ। उक्त अवधिमा टोयटाले आफ्नो औसत आम्दानी ५ अर्ब ८८ करोड डलरबराबर पुगेको विवरण सार्वजनिक गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको औसत आम्दानी ५ अर्ब ५२ करोड डलरबराबर रहेको थियो।
टोयटाले आफ्नो त्रैमासिक औसत नाफामा ७.२ प्रतिशतको वृद्धिदर हासिल भएको बताएको छ। विश्लेषकहरुले कम्पनीको नाफा पछिल्लो त्रैमासिक अवधिमा केही कमजोर रहने अनुमान गरेको अवस्थामा यस किसिमको महत्वपूर्ण सुधारको नतिजा हासिल भएको हो।
एसियाको बजारमा देखिएको व्यापक व्यापारिक सुधार र आफ्ना उत्पादनहरुमा गरिएको मूल्यमा कटौतीको नतिजाले टोयटाको नाफामा सुधार आएको हो। सो ३ महिनाको अवधिमा कम्पनीले आफ्ना २२ लाख ३६ हजार उत्पादनहरुको बिक्री गरेको थियो। यो अवधिमा उसले २१ हजारभन्दा बढी सवारीहरु बढी बिक्री गरेको हो।
टोयटा कम्पनीले आफ्नो एएसईएएनको क्षेत्रमा देखिएको व्यापारिक सुधारले आर्थिक हिसाबमा महत्वपूर्ण सुधार आएको बताएको छ। टोयटाको सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा थाइल्याण्डको व्यापारमा देखिएको व्यापक सुधारले टोयटा कम्पनी आर्थिक हिसाबमा बलियो रहेको देखिएको हो।
टोयटाले आफ्नो कार्यगत नाफामा पनि १८.८७ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको विवरण सार्वजनिक गरेको छ। टोयटाले आफ्नो वार्षिक औसत नाफाको नतिजा भने यसअघि अनुमान गरिएअनुसार नै हुने बताएको छ। पछिल्लो समय बढिरहेको व्यापारिक तनावले कम्पनीको व्यापारमा केही असर गर्नसक्ने अनुमान विश्लेषकहरुले गरिरहेको अवस्थामा कम्पनीको यस्तो विवरण सार्वजनिक भएको हो।
टोयटाले आफ्नो यस वर्षको औसत नाफा १९ अर्ब अमेरिकी डलरबराबर रहने अनुमान गरेको छ। यस वर्षको सुरुवातमा टोयटाले सन् २०१९ को मार्च महिनासम्मको अवधिमा ८९ लाख ५० हजार सवारीसाधनहरु बिक्रीको अनुमान सार्वजनिक गरेको थियो। यद्यपि उसले शुक्रबार सार्वजनिक गरेको विवरणमा भने सो अवधिमा केवल ८९ लाख सवारीहरुको मात्र व्यापार हुने बताएको हो।
व्यापारिक हिसाबमा अहिले टोयटा कम्पनी बलियो अवस्थामा रहेको भए पनि पछिल्लो समय देखिएको विश्वव्यापी व्यापारिक तनावले भने आगामी दिनमा उसको व्यापारिक नतिजा कमजोर रहनसक्ने विश्लेषकहरुले बताएका छन्। पछिल्लो समय देखिएको व्यापारिक तनावको कारण पछिल्लो समय विश्वका प्रमुख सवारीनिर्माताहरुले आफ्नो व्यापारमा उल्लेख्य गिरावट आएको विवरण सार्वजनिक गरेका छन्।