विवेकशील साझा राजनीतिक संस्कारमा हुर्केको पार्टी हाेईन,सामान्य घटना हुनु स्वभाविक (कुराकानी)
प्रकाशित २०७५ साउन २१ सोमबार
356
Shares
विवेकशील साझाका संगठन विभाग प्रमुख मुमाराम खनालले याे पार्टी राजनीतिक संस्कारमा हुर्केकाे पार्टी नभएकाे बताएका छन् । उनले भनेका छन्, 'पार्टीमा पवित्र भावनाले जोडिएका मान्छे छन् । यसलाई राजनीतिक स्कुलिङमा लैजान समय लाग्छ । त्यसक्रममा एउटा अराजकतावादी दृष्टिकोण पनि छ । सामान्य घटना हुनु स्वभाविक हाे ।' गएकाे हप्ता प्रदेश ३ का ६ जिल्लाको संयाेजकहरुकाे घोषणासभामा भएको हुलदुङ्गाबारे पार्टी संगठन विभाग प्रमुख खनालसँग हामीले कुरा गरेका छाैँ ।
० विवेकशील साझा पार्टीको घोषणा सभामै झगडा भएछ नि ?
– झगडा भएको होइन, केही व्यक्तिहरु जो विवेकशील साझा पार्टीका सदस्य हुन् कि होइनन भन्ने विषयमा छानबिन भइरहेको छ । हामीले नदेखेका कतिपय अनुहार त्यहाँ थिए, कतिपय विगतमा विवेकशील नेपाली दल हुँदा भविष्यका लागि अयोग्य हुने गरी कारबाहीमा परेका केही व्यक्ति आएको बुझियो । त्यो पाँच सातजनाको समूहले हाम्रो कार्यक्रम समापन हुने बेलामा अवरोध गर्न खोज्नुभो । त्यो जम्मा २ मिनेटको कुरा थियो । त्यसपछि साम्य भयो । कुरा त्यत्ति मात्र हो ।
० यो असन्तुष्टि कहाँबाट आयो ?
– हाम्रो न्याय तथा सुशासन आयोग छ, त्यो आयोगले त्यहाँ देखिएको सांगठनिक अराजकता र अमर्यादित क्रियाकलापमा विवेकशील साझा पार्टीका कोही सदस्यहरु रहेछन भने विधानअनुसार उनीहरुलाई गल्तीको प्रकृतिअनुसार कारबाही हुन्छ । त्यहाँ हामीले कतिपय राजनीतिक संस्कार र स्कुलिङको अभाव भएर कुनै साथीहरु त्यसमा अलमलिएका अथवा धमिलो पानीमा माछा मार्ने कुनै तत्व रहेको भए त्यसलाई त्यहीअनुसारको कारबाही हुन्छ । राजनीतिक दलमा त्यस्ता सामान्य घटना भइरहन्छन् । त्यसैले हामीले यसलाई त्यत्ति ठूलो ठानेका छैनौं ।
० हुलदुङ्गा होइन ?
– हुलदुङ्गा होइन, हुलदुङ्गा गर्ने कोसिस चाहिँ भएको हो । त्यहाँ दुई तीन सयको मास थियो, त्यो मासमा दस जनाले हुलदुङ्गा गरेको भए अप्रिय घटना हुन्थ्यो । तर हाम्रो कार्यक्रम सानदाररुपमा सफल भयो । सबै जिल्ला संयोजकहरुले भाषण गर्नुभयो । घोषणासभामा कुनै व्यवधान आएन ।
० पार्टीभित्र असहमति वा असमझदारी बढ्दैछ, भन्ने संकेत हो ?
– असमझदारी बढ्दै गएको होइन, हाम्रो पार्टीको इतिहास लामो होइन, पूर्व विवेकशील नेपाली दल पार्टी साझा भइसक्यो । त्यसमा काम गर्ने तौरतरिकामा राजनीतिक मत भिन्नता होइन, सबैको शैली एउटै छ । लामो राजनीतिक संस्कारमा हुर्केको हाम्रो पार्टी होइन, लोकतन्त्रको अभ्यास कसरी गर्ने भन्ने कुरासमेत थाहा छैन । पार्टीमा पवित्र भावनाले जोडिएका मान्छे छन् । यसलाई राजनीतिक स्कुलिङमा लैजान समय लाग्छ । त्यसक्रम एउटा अराजकतावादी दृष्टिकोण पनि छ । अस्तीको घटनामा हाम्रा सदस्य रहेछन भने पनि त्यो अराजकतावादी दृष्टिकोण हो । त्यो अराजक झुण्डले राजनीतिक संस्कार बस्न दिँदैन । अहिले हामी राजनीतिक संस्कार र स्कुलिङ बनाउँदैछौं ।
० अनि, के नेतृत्वप्रति फरक दृष्टि राखेका हुन् ?
– फरक दृष्टिकोण राख्ने ठाउँ हुन्छ, त्यहाँ हामीले फरक दृष्टिकोण देखेनौं । अकस्मात कार्यक्रमको घोषणासभामा आएर मेरो फरक मत छ भनियो, कोही मेचीबाट, कोही पश्चिमबाट आएको छ भने त्यसको कुनै अर्थ रहँदैन । पार्टीमा फरक विचार हुन्छन्, दृष्टिकोण हुन्छन् । फरक विचार प्रस्तुत गर्ने पनि त तरिका हुन्छन् । पार्टीका फोरमहरुको आफ्नै खालका नियम हुन्छन् । विधानको आफ्नै खालको मर्म हुन्छ । फरक मत सार्वजनिक घोषणासभामा देखाउने हो र ? यो त राजनीतिक नबुझेको अबुझ केटाकेटी कुरा भयो ।