arrow

भुइँ कटहरले चर्चामा आए हेड सर

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन २३ बुधबार
headsir-baaa.jpg

पुनर्वास ।  राजेन्द्रप्रसाद बराल पुनर्वासको स्थानीय विद्यालयका प्रधानाध्यापक हुन । उनी पुनर्वास नगरपालिका -७ स्थित बाल बागिश्वरी माविमा अध्यापन गर्दै आएका एक सफल भुइँ कटहर उत्पादक किसानका रुपमा समेत चिनिन थालेका छन् हिजोआज । बिगत १३ वर्ष अघि देखि उनले थालेको भुँइ कटहर खेती अहिले झाँगिएको छ ।  सीमावर्ती भारतीय बजार पलियाँबाट किनेर ल्याएको एउटा फलको मुना रोपेर सुरु गरेको बराल माडसाबको भुँइकटर खेती यतिबेला निकै फस्टाएको र चर्चित बनेको छ  ।

बिधालय जानू अघि र बिदा पछिको समयमा भुँइकटरकै बारीमा देखिने "हेडसर" को लगन,मेहनत र निरन्तरताको प्रयासले भुँइकटरको खेती १० कठ्ठा जमिनमा बिस्तार भएको छ ।  कहिँ कसैले केही प्रोत्साहन र सहयोग नपाए पनि एक दिन जिल्लामा भुइँ कटहरको बिस्तार गरेरै छाड्ने अठोटका साथ हेड सरको प्रयास निरन्तर चली रहेको छ । गत वर्षबाट बढी उत्पादन हुन थालेको उनको बागवानीले हेडसरलाई थप हौसला बढेको छ ।

अर्गानिक भुँइ कटहरको उत्पादनमा हेडसर कञ्चनपुरकै व्यावसायिक पहिलो कृषक समेत बन्न पुगेका छन् । जिल्लामा अन्य फल उत्पादन हुँदै आए पनि भुँइ कटर भने पहिलो पटक व्यावसायिक रुपमा बराल माड् साबले सुरु गरेका हुन । सुरुमा रहरले भुइँ कटहर रोपेका बरालसर अहिले आम्दानीको श्रोत बनाउन लागि परेका छन ।

गत वर्ष देखि उत्पादन बजारमा ल्याउन सुरु भएको  हेड सरको भुँइ कटरले पुनर्वासमा मात्रै नभई कैलालीमा समेत चर्चा पाउन थालेको छ  ।  गएको वर्ष ६० हजार बराबरको भुइँ कटहर बेचेर आम्दानी भएको बराल सरको अनुभव रहेको छ ।  बिना कुनै बिषादी,रसायनिक र अन्य कुनै कीट नाशक बिनै उत्पादन गरिएको "हेड" सरको भुँइ कटहर पुर्ण रुपमा अर्गानिक रहेको छ ।

 बिहान ९ बजे सम्म र बेलुका साँढे ४ बजे पछि प्रायः भुँइ कटहरकै बारीमा ब्यस्त देखिने हेडसर स्थानीय बजारमा उत्पादनले बजार नपाउदा खिन्न हुने गरेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास र आसपासका स्थानीयले भुइ कटहरको महत्व नबुझ्दा बिक्री हुन नसकेको उनको ठम्याइ रहेको छ ।  मानव स्वास्थ्यका लागि अति लाभदायक मानिने फल भुँइ कटहरको व्यावसायिक खेतिमा लागेका बराल माड्साब धेरै चुनौतीपूर्ण अबस्था रहे पनि भुइँ कटहरको उत्पादन अझै बढाउँदै लैजाने योजना बनाएका छन ।

एनेनस कमाउसेस बैज्ञानिक नाम रहेको भुइँ कटर मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । क्यान्सरबाट बचाउन सहयोगी तत्व भुइँ कटरमा पाइन्छ । यो बाहेक म्याग्नेसियम,क्यालसियम जस्ता तत्व बढि पाइने हुँदा मधुमेहका बिरामीहरुका लागि उत्तम मानिन्छ । मुटुरोग,उच्च रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न भुइँ कटर लाभदायक छ ।  यसमा फाइबरको मात्रा निकै पाइन्छ जसका कारण ग्याष्ट्रीकका बिरामीहरुको लागि समेत लाभदायक हुन्छ । भुइँ कटरमा एन्टी फ्लेमेटरी,एन्टी एक्सिडेन्ट् ,भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसबाट अनुहारको चाउरीपना हटाएर सुन्दरता बढाउन मद्दत पुगाउने उपयोगी गुण भुइँ कटरमा पाइन्छ ।

स्वास्थ्यका लागि महत्वपूर्ण फल रहे पनि स्थानीय बजारमा खपत हुन नसक्दा हेड सरलाई निकै पिरलो थपिदिएको छ । भुइँ कटरको महत्व बारे जानकारी नभएकै कारण स्थानीयले किनेर खाने नगरेको उनको ठम्याइ रहेको छ । उनी भन्छन- यहि फल कैलालीको धनगढीमा धमाधम बिक्री हुने तर पुनर्वासमा नबिक्नुको अर्थ यसको महत्व नबुझ्नु नै हो ।  जिल्लामा पहिलो पटक भुइँ  कटरको बढी परिणाममा उत्पादन गर्दै आएका हेडसरका चुनौती हरु पनि निक्कै छन । उनी भन्छन् " खेतिको प्रबर्धन र प्रोत्सानमा सम्बन्धित सरोकारवाला समेतले ध्यान दिएका छैनन् । " बालीको प्रबर्द्धन ,बिस्तार र अन्य साहायता कहि कतै बाट नमिल्दा अलि कठिनाई भएको छ । बजारको अभावले समेत भुइ कटर उत्पादनमा समस्या परेको छ ।" हेडसर भन्छन् "पहिला शौकिन रुपमा भुइँ कटहर रोपियो अहिले यसलाई व्यावसायिक बनाउन सकिने ठानेर उत्पादनमा जुटेको छु र व्यावसायिक बनाउदै राम्रो उत्पादन र आर्थिक उपार्जनको आश लाग्दो माध्यम भुइ कटहर हुने निश्चित छ । " समय संगै भुइँ कटहरको महत्व बढ्दै जानेमा हेडसर बिश्वस्त देखिन्छन् ।

रुख ,झाडी र वन क्षेत्रमा समेत बिना कुनै बिषादी र रासायनिक प्रयोग बिनै सहजै भुइँ कटरको खेती र उत्पादन गर्न सकिने भए पनि आबश्यक प्रचारप्रसार र प्रबर्द्धनमा सम्बन्धित सरोकारवालाहरुको चासो जान नसक्दा  बराल सरको उत्पादनले गति लिन सकेको छैन । वन क्षेत्रमा समेत भुइँ कटहर सहजै उत्पादन हुन्छ । कमसेकम पुनर्वास क्षेत्रका सामुदायिक वन भित्र यसको खेती गर्न सकिए आर्थिक लाभ र स्वस्थ फल उत्पादन भइ फलफूल उत्पादनमा केही मात्रामै भए पनि आत्मनिर्भरता देखिने भए पनि कहिँ कतै कसैको प्रयास देखिएको छैन ।

रोग किरा लगायतका समस्या नदेखिने र उत्पादनमा सहज हुने भुइँ कटहर खेती जति सहज छ त्यति नै स्वादिलो र पोषण युक्त पनि छ । जुन जुसै बिरामी र स्वस्थ्य मानवका लागि उपयोगी भुइँ कटहर त्यति नै महत्वपूर्ण छ । मानव स्वास्थ्यमा लाभदायक यसको खेती प्रबर्द्धन र बिस्तार गरि उत्पादन बढाउन सकियो भने भुइँ कटहरमा प्रदेशलाई आत्म निर्भर बनाउन सकिने जानकारहरु बताउछन् । अहिले ७ नम्बर प्रदेशका फलफूल बजारमा भुइँ कटहर भारत बाटै आयात हुँदै आएको अबस्था लाई रोक्न र स्वदेशी पुँजी स्वदेशमै रोकि अर्थतन्त्र दरिलो बनाउने भरपर्दो माध्यम बन्न सक्छ । भुइँ कटहरको खेती प्रबर्द्धन र बिस्तार गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यान जान सके जिल्लाको दक्षिणी सिमान्त क्षेत्रमा रहेको पुनर्वास उत्पादनका हिसाबले देशकै नमुना क्षेत्र बन्न सक्ने आधार बलिया रहेका छन् । यो क्षेत्र उखु,केराआँप लगायतका फलफूल, तरकारी र अन्नबाली उत्पादनमा अग्रणी रहदै आए पनि अहिले भुइँ कटहर उत्पादनमा समेत चर्चामा आएको छ ।

पुनर्वास क्षेत्रमा मात्रै दर्ता गरिएका ४४ वटा निजी वन र दर्जन बढी सामुदायिक वनहरुमा भुइँ  कटहरको खेती बिस्तार गर्ने हो भने फलफूल उत्पादनमा वृद्धि भइ आर्थिक उपार्जन समेत राम्रो हुने देखिन्छ । यस तर्फ सरोकारवालाको ध्यान जान सके बराल सरको प्रयासले पुनर्वास क्षेत्रको अर्थतन्त्र दरिलो पार्ने सुत्रले सार्थकता पाउथ्यो ।  फल मात्रै होइन भुइँ कटहरको बिरुवा समेत बिक्रीवितरणको बाताबरण बन्दा आर्थिक समृद्धिको गोरेटो तर्फ हेड सरको प्रयास बलियो सम्भावना सावित हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ