उपत्यकाभित्र दिउँसो पनि टिपर चलाउन पाउनु पर्छ : व्यवसायी
प्रकाशित २०७५ साउन २४ बिहिबार
365
Shares
भक्तपुर। दिउँसोको समयमा उपत्यकाभित्र ट्रक तथा टिपर गुडाउन निषेध गर्दा व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिपर व्यवसायीले निषेध खारेज गर्न सरकारसँग माग गरेका छन्।
व्यवसायीले आज पत्रकार सम्मेलन आयोजना गरी दिउँसो ट्रक, टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसाय समस्यामा परेको गुनासो गरेका हुन्। भक्तपुर ट्रक तथा टिपर व्यवसायी संघका निर्वतमान अध्यक्ष नवीन प्रजापतिले रातिको समयमा मात्र चलाउँदा ढुवानीका समयमा ध्वनि प्रदूषण भएर स्थानीयले विरोध गर्ने गरेको बताए।
उनले भने, “टाइम कार्ड लागू गर्दा सरोकारवालासँग छलफल नै गरिएन, हाल उपत्यकामा दैनिक दुई हजार २ सय देखि दुई हजार ५ सय सम्म टिपर गुडिरहेका छन्, यस्तै अवस्था रहे, आगामी दिनमा थप दुई हजार ५ सय टिपर आयात गर्नुपर्ने बाध्यता हुन्छ, यसले एकातिर नेपाली पूँजी विदेशिन्छ, अर्कोतर्फ निर्माण सामग्रीको मूल्य अकाशिन्छ।”
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले सरकारले समस्याको वैकल्पिक समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए। रासस