बुटवल। मुलुककै पहिलो निर्यातमुखी योजना भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा दर्ता भएका विभिन्न १७ उद्योगले स्थापनार्थ ६ महिनाको अग्रिम भू–बहाल शुल्क तिरेका छन् ।
यस अघि असारबाट आउँदो कार्तिक भित्रै संचालनमा ल्याउने गरी शक्ति मिनिरल्स् प्रालिले भू–बहाल तिरी सेजमा उद्योग स्थापना सुरु गरेको थियो । अहिले थप १६ उद्योगले बहाल तिरेर स्थापनाको तयारी थालेको विशेष आर्थिक क्षेत्र विकास समितिका सूचना अधिकृत सुन्दर थापाले बताए ।
शक्तिले बहालवापत ११ लाख ५ हजार अग्रिम भुक्तानी तिरेको छ । यस्तै एस प्लास्टिक प्रोडक्टस निकासी युनिटले ८८ हजार ९२, नूमेटल इष्डष्ट्रिज प्रा.लि.ले १० लाख ७४ हजार ५सय ८८, एलइडी लाइट मेनिफ्याचर इण्डष्ट्रिजले एक लाख ४४ हजार ५ सय ४० रुपैयाँ बहाल तिरेका छन् ।
यस्तै एक्सन पोलिमर्स प्रा.लि.ले एक लाख ४० हजार ६०, सिद्धार्थ पेट प्लास्ट इण्डष्ट्रिज प्रालिले चार लाख २० हजार, सिद्धार्थ पेट प्लास्ट इण्डष्ट्रिज प्रालि (प्रिफर्म क्लोजर्स) ले २ लाख ८६ हजार ९ सय ५६, नियर इण्डष्ट्रिज प्रालि (ट्रान्स हिमालय) ले ६ लाख ८६ हजार ८ सय २० रुपैयाँ बहाल तिरका छन् ।
यस्तै ग्रोभेल इन्नोभेसन प्रालिले २ लाख ६४ हजार ९ सय, बुद्ध न्याक्पिन एण्ड टिसी पेपरले २ लाख ८० हजार ७ सय ८८, सुगम नानो हर्बल इण्डष्ट्रिज प्रालिले ६ लाख ५३ हजार ७ सय ९० रुपैयाँ अग्रिम बहाल तिरेका छन् । यस्तै पंचकन्या गु्रप इण्डष्ट्रिजले ६ लाख १६ हजार ५ सय ८५ रुपैयाँ बहाल तिरेको छ ।
उसले ४ वटा उद्योग स्थापना गर्ने जनाएको छ ।आइटिएस इलेक्ट्रिकल्स् प्रालिले ७ लाख ५९ हजार ३ सय ४५ रुपैयाँ बहाल तिरेको छ भने क्रियसन वल्र्डवाइज प्रालिले एक लाख ६५ हजार ५सय बहाल तिरेको सेज विकास प्राधिकरणले जनाएको छ ।
निर्माण भएको डेढ दशकसम्म पनि आवश्यक ऐन र प्राप्त विद्युत् नहुँदा संचालन ढिलाई भएको सेजमा ऐन बनेपछि र नेपाल विद्युत् प्राधीकरणले आवश्यक विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै व्यवसायीले बहाल तिरेर उद्योग निर्माण थालेका हुन् ।